स्याङ्जामा शतप्रतिशत अनुदानमा मौरी घार वितरण

मङि्सर १७, २०७९


स्मार्ट संवाददाता , स्याङ्जा
१६ मंसिर २०७९

विज्ञापन
बिज्ञापन

स्याङ्जाको भीरकोट नगरपालिकाले कृषि र पर्यटनको दिगो विकासको लागि ७ दर्जनभन्दा बढी मौरीको घार वितरण गरेको छ। नगरपालिका र युएनडिपीको आर्थिक सहयोग तथा अन्धाअन्धी सामुदायिक केन्द्रको व्यवस्थापनमा संचालित हरित पुनरुत्थान तथा कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत मौरीको घार वितरण गरिएको पालिकाले जनाएको छ। पर्यटन व्यवसायी र कृषकको आय आर्जन वृद्धि गरि कृषि र पर्यटनको दिगो विकासका लागि शतप्रतिशत अनुदानमा मौरीको घार वितरण गरिएको भीरकोट नगरपालिकाका नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यले बताउनुभयो।

इको होमस्टेलाई प्रवर्धन गर्न केघा होमस्टेमा २० वटा, ओकादी होमस्टे ३० वटा , खिलुङ होमस्टेमा २० वटा, स्थानिय क्याफेमा ५ र न्यून आय भएका माझी समुदायलाई १५ वटा गरि ९० वटा मौरीको घार वितरण गरिएको परियोजना प्रमुख हरि रेग्मीले बताउनुभयो। रैथानी बालीको संरक्षण, उत्पादन तथा सदुपयोग गरी पर्यटनलाई वातावरणमैत्री बनाउन परियोजनाले काम गरिरहेको छ। होमस्टेमा आयातित वस्तुहरूको प्रयोगलाई सकेसम्म न्यून गरि रैथाने उत्पादनलाई नै प्राथमिकता दिन अर्गानिक उत्पादनलाई परियोजनाले प्राथमिकतामा राखेको छ।करिब ११ लाखको लागतमा मौरीको घार वितरण गरिएको हो।घार वितरण गरिएका सबैलाई मौरी पालन सम्बन्धि तालिम यस अघि नै दिइसकेको परियोजना प्रमुख रेग्मीले बताउनुभयो।

यसैगरी परियोजनाले रैथाने बालिको संरक्षण र सदुपयोग गर्दै पर्यटन प्रबर्द्धन गर्नको लागि अतिथी सत्कार तथा भान्सा व्यवस्थापन तालिम पनि संचालन गरेको छ।बिहिबार देखि संचालन भएको तालिम ५ दिन सम्म संचालन हुने परियोजना प्रमुख रेग्मीले बताउनुभयो।पाकशास्त्री सन्दिप कुमार केसी र निधिका सुनारले प्रशिक्षण दिइरहनुभएको तालिममा खिलुङ, ओकादी र केघा गरि तीन वटा होमस्टे बाट ५ जनाका दरले १५, परम्परागत खाजा घर १ जना, आधुनिक क्याफे २ जना गरि १८ जनाको सहभागिता रहेको छ।तालिममा स्थानीय रूपमा उपलब्ध कोदो, मकै, भटमास, इसकुस, फापर लगायतका रथाने बालीका उत्पादन बाट बनाउन सकिने परिकार बनाउन सिकाइने छ। होमस्टेको मेनुमा सिकाइएका परिकारलाई अनिवार्य रूपमा समावेश गरिने बताइएको छ।प्रशिक्षक के.सी का अनुसार कोदोको चटामरी, इसकुसको कवाफ,करेसो आलुको तरूवा, ग्रेभी , भटमासको दुधको चिया, होममेड कनफेलेक्स, भरूवा रोटी, सयत्री फुल र फर्सीको केचप सुन्तला झानेको साँधेको, रैथाने बालीको मम, चिप्स सयपत्री फुलको हलुवा, हाते नुडल्स लगायतका परिकार बनाउन सिकाइने छ। तालिम तथा मौरी घार वितरण कार्यक्रमको सुन्तला सुपरजोनका प्रमुख माधव लम्साल, अन्धाअन्धी सामुदायिक केन्द्रका अध्यक्ष कमल पौडेल, कृषि ज्ञान केन्द्रका गुरु प्रसाद अर्याल, पत्रकार महासंघका स्याङ्जाका कोषाध्यक्ष रमेश गोदार, स्थानीय पत्रकार नारायण प्रसाद कोइराला लगायतले अनुगमन गरेका थिए।भीरकोटमा युएनडिपीको १ करोड र नगरपालिकाको २ करोड लगानीमा परियोजना संचालन भैरहेको छ।