मिलोमतोमा आँधिखोलाको बालुवा चोरी

असोज ०१, २०७८


आश्विन ०१, भीरकोट खबर डेस्क,



भीरकोट नगरपालिकाको क्षेत्राधिकारमा पर्ने आँधिखोलाको विभिन्न ठाउँबाट रातीको समय बालुवा चोरी भैरहेको छ।छाङ्छाङ्दी, बयरघारी र हेलु आसपासका क्षेत्रबाट रातीको समयमा हेडलाइट नबाली ट्याक्टर व्यवसायीहरूले बालुवा चोरी गरेको प्रत्यक्षदर्शीहरूले बताएका छ्न् । वर्षाको समय नसकिदै बाढीले बगाएर ल्याएको बालुवा चोरी निकासी भएको हो । नगरपालिकाले भीरकोट १ बयरघारीमा बालुवा प्रसोधन केन्द्र स्थापना गरि गुणस्तरीय बालुवा उपलब्ध गराउन थालिसकेपछि व्यवसायीहरूको लागि खोला खुलेको छैन् । भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सम्पर्क गर्दा यस विषयमा नगरपालिका गम्भीर रहेको र अवैध रूपमा उत्खनन तथा चोरी निकासी गर्नेलाई कानुन बमोजिम कार्वाहीको दायरामा ल्याइने बताउनुभयो । छाङ्छाङ्दी र हेलुमा यसमा संलग्न व्यक्तिहरूलाई कार्वाही गरिसकिएको बताउँदै उहाँले नगर सुरक्षाकर्मी र प्रहरी प्रशासनको सहयोगमा अवैध चोरी निकासी नियन्त्रणको प्रयास भैरहेको जानकारी दिनुभयो। यदि कोहि कसैले आँधिखोलाबाट निर्माण सामाग्री अवैध उत्खनन र चोरी निकासी भएको जानकारी पाएमा सिधै नगर प्रशासनमा सम्पर्क गरी जानकारी गराउन पनि अनुरोध गर्नुभएको छ। सर्वसाधारणहरूले भने नेपाली काङ्ग्रेस पार्टीको नगर अधिवेशनको समय पारेर रातीको समयमा बालुवाको उत्खनन,चोरी,निकासी हुनुलाई राजनीतिक मिलोमतोका रूपमा बुझेका छ्न्। एक जना प्रत्यक्षदर्शीले नाम नबताउने शर्तमा पार्टीलाई सकृय योगदान पुर्याइरहेका व्यवसायीका ट्रयाक्टरहरू यस कार्यमा प्रयोग भएको बताएका छ्न्।यसै गरि बोरामा बालुवा बोक्ने मजदुरहरूलाई समेत कार्बाही गर्ने नगर प्रहरीले व्यवसायीलाई नगरेको मजदुरहरूको आरोप छ।