स्याङ्जा जिल्लाकै पहिलो बालमैत्री नगर बन्यो भीरकोट ।
फागुन २२, भीरकोट खबर डेस्क
स्याङ्जाको भीरकोट नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको छ । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले शनिबार विशेष समारोहका बीच भीरकोट १ सिसौघारीमा आयोजित कार्यक्रममा नगरलाई बालमैत्री नगर घोषणा गर्नुभएको हो ।
बालमैत्री घोषणा गर्नुहुँदै प्रमुख शेरचनले बालमैत्री कार्यक्रमले बालबालिकामाथि हुने सबै खाले अन्याय र अत्याचारको अन्त्य हुने बताउनुभयो । प्रमुख शेरचनले भन्नुभयो, ‘बालमैत्री स्थानीय शासन सबै तहमा हुन आवश्यक छ यसले बालश्रम, बालविवाह जस्ता घटनालाई न्युनिकरण गर्छ ।’ हरेक तह व्यवहारिक रुपमै बालमैत्री हुन आवश्यक रहेको भन्दै प्रमुख शेरचनले बालबालिकाको क्षेत्रमा गरिने लगानीले भविष्यमा उचित प्रतिफल मिल्ने बताउनुभयो ।
प्रमुख शेरचनले भन्नुभयो, ‘बालबालिकाको शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्छ । असल र निष्ठावान नागरिक निर्माणका लागी बालबालिकाको क्षेत्रमा लगानी गर्न आवश्यक छ ।’ भीरकोटले बालबालिकाको क्षेत्रमा लगानी गरेको प्रति प्रशंसा गर्दै उहाँले संविधानले निदृष्ठ गरेका बालमैत्री सम्बन्धी विषयवस्तुलाइै बालमैत्री घोषणाले कार्यान्वयनमा ल्याएको बताउनुभयो ।
कार्यक्रम नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, प्रदेश सांसद दिपक चर्तीमगर, प्रदेश सांसद मेखलाल श्रेष्ठ, जिल्ला समन्वय उपप्रमुख दिलिप बगाले, गलकोट नगरपालिकाका मेयर भरत गैह्रे, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, वडा नंं १ का अध्यक्ष एवं प्रवक्ता दिपेन्द्र केसी, २ का वडा अध्यक्ष कमल त्रिपाठी, बालसंजालका नगर अध्यक्ष सुदिप पौडेललगायतले बोल्नुभएको थियो । साथै कार्यक्रममा भीरकोट नगरपालिकाले आफ्नो डिजिटल प्रोफाईल समेत सार्वजानिक गरेको छ ।
कार्यक्रममा नगरप्रमुख छायाराम खनालले नगरलाई बालमैत्री नगर घोषणाका लागी गर्भा अवस्थादेखि नै स्वस्थ बालबालिका लक्षित कार्यक्रमहरु गरिएको भन्दै गर्भवतीलाई अण्डा वितरण, नियमित गर्भ जाँच, पुर्ण खोपको सुनिश्चिता गरिएको बताउनुभयो । खनालले भन्नुभयो, ‘हामीले बाल विवाह न्युनिकरण, बालश्रमको अन्त्यका विभिन्न कार्यक्रम कार्यक्रमहरु गरेका थियौँ र हामी आज सफल पनि भएका छौँ । बालमैत्री नगर घोषणा भएको छ ।’
नेपालभरीका नगरपालिका मध्य भीरकोट ७ औँ, गण्डकी प्रदेशमा दोस्रो र स्याङ्जा जिल्लामै पहिलो बालमैत्री नगर घोषित भएको हो । बालमैत्री नगर घोषणाका लागी भीरकोटले २०७५ साल पौष ९ गतेदेखि नै बालमैत्रीस्थानीय शासन अवलम्बन गरी वडा तथा नगरमा बालमैत्री स्थानीय शासन अवधारणालाई सुनिश्चित गर्दै बालमैत्रि स्थानीय शासन राष्ट्रिय रणनितिमा आधारित भई आवधिक वार्षिक योजना शुरु गरेको थियो ।
गत वर्षको चैत्र महिनामै बालमैत्री घोषणाको तयारीमा रहेपनि कोभिड १९ का कारण घोषणा हुन सकेको थिएन । घोषणाका ३९ सूचकहरु पुरा गरी बालमैत्री नगर घोषणा गरिएको हो । ३९ सूचक मध्ये २० ओटा १०० प्रतिशत र १९ ओटा ९९.६७ प्रतिशत नतिजा हाँसिल गरेको छ । त्यस्तै बालबालिकाको स्थितिपत्र समेत प्रकाशन गरिएको छ ।
बालबचाउ, बालसंरक्षण, बालविकास र बालसहभागिता जस्ता बाल अधिकारका सवाललाई स्थानीय तहको नीति, संरचना, प्रणाली, कार्यप्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धति नै बालमैत्री स्थानीय शासन हो । बालबालिका भन्नाले १८ वर्ष भन्दा कम उमेर समूहकालाई बुझिन्छ ।
कार्यक्रमा यसअघि गरिएका अतिरिक्त क्रियाकलापहरुमा प्रथम, द्धितिय, तृतिय र शान्त्वना हुने विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो भने विभिन्न विद्यालयका बालबालिकाहरुले नृत्य, गीतलगायत आफ्ना प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिभाभावक, विद्यार्थी, शिक्षक शिक्षिकाहरुको विशेष उपस्थिति थियो । नगर उप-प्रमुख सिमा केसी कर्माचार्यकाे स्वागत र प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।