बालमैत्री नगर भीरकोटमा सभ्य र भव्य समारोह सहित मनाइयो राष्ट्रिय बाल दिवस

भदौ २९, २०७८


भाद्र २९ भीरकोट खबर डेस्क,

स्याङ्जा जिल्लाकै पहिलो बालमैत्री नगरपालिका भीरकोटमा सभ्य र भव्य समारोह गरी ५७ औं राष्ट्रिय बाल दिवस-२०७८ मनाइएको छ। गण्डकी प्रदेशका शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न गरिएको कार्यक्रम भीरकोट नगर बाल सञ्जालका नगर सचिव प्रशंसा भुजेल र बाल सञ्जालका सदस्य एवं बालोदय मा.वि.का छात्र प्राञ्जल तिवारीले सञ्चालन गरेका थिए।

भीरकोट नगर बाल संजालकी अध्यक्ष सुजाता खत्रीको अध्यक्षतामा सम्पन्न बाल दिवस समारोहमा भीरकोटका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूले गीत, नृत्य, कविता, वक्तृत्व लगायतका प्रतिभाहरू प्रस्तुत गरेका थिए। बालबालिकाका प्रतिभालाई विशेष स्थान दिइएको उक्त कार्यक्रममा बाल दिवसकै अवसरमा यहि २८ गते आयोजना गरिएको तहगत निबन्ध, कविता तथा चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेका विद्यार्थीहरूलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियो। शिक्षा शाखा अधिकृत नवीन थापाका अनुसार प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान प्राप्त गरेका विद्यार्थीहरूलाई क्रमश: नगद रू. चार हजार, तीन हजार, दुई हजार र एक हजार पाँच सय प्रदान गरिएको हो।

बाल दिवसकै अवसर पारेर गण्डकी प्रदेशका शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ र नगर प्रमुख छायाराम खनालले संयुक्त रुपमा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक “हाम्रो भीरकोट” सार्वजनिक गर्नुभएको थियो। भीरकोटका सम्पदाहरू र पहिचानलाई समेटेर नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा आधारित “हाम्रो भीरकोट” पुस्तकको लेखन/सम्पादन सहजीकरण साभ नेपालले गरेको हो। बाल दिवस समारोहका बिच “हाम्रो भीरकोट” पुस्तकको लेखन/सम्पादन सहजीकरण गरी अतुलनीय योगदान पुर्‍याउन हुने साभ नेपालका अध्यक्ष डा.तुलसी खनाल प्रभासलाई र कमल कोइरालालाई विशेष सम्मान गरिएको थियो। समारोहमा बोल्दै प्रदेश शिक्षा मन्त्री श्रेष्ठले नगरपालिकाको बालमैत्री कृयाकलापको प्रशंसा गर्दै यसको कार्यान्वयन पक्षलाई थप सशक्त र प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको थियो। बाल दिवसकै अवसर पारेर प्रदेश सरकारले बालबालिकाको हक सम्बन्धि विधेयक आजै प्रदेश संसदमा प्रस्तुत गरेको जानकारी गराउँदै उहाँले विद्यार्थीहरूलाई उच्च लक्ष्य राखी सोही अनुसार लक्ष्य प्राप्तिका मिहिनेत गर्न पनि आग्रह गर्नुभएको थियो।

बाल दिवस समारोहमा सार्वजनिक भएको पाठ्यपुस्तक “हाम्रो भीरकोट” का लेखक/सम्पादक एवं साभ नेपालका अध्यक्ष खनालले नेपाल भरीमै कक्षा १-८ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने पहिलो स्थानीय निकाय भीरकोट नगरपालिका भएको जानकारी दिंदै आफ्नै जन्मथलोमा बाल शिक्षाका क्षेत्रमा काम गरी सम्मानित हुन पाउँदा एकदमै खुसी भएको बताउनुभएको थियो। किताबले नयाँ कुरा भन्दा पनि भीरकोटबासीको आफ्नोपन र माटोको सुगन्धलाई बुझ्न् सघाउने बताउनुभएको थियो। पाठ्यपुस्तकका सहलेखक एवं भीरकोट गानका रचयिता कमल कोइरालाले भीरकोट गान आफ्नै लयमा गायर सुनाउनु भएको थियो। उक्त भीरकोट गान भीरकोटका औपचारिक कार्यक्रम तथा विद्यालयहरूमा राष्ट्रिय गान सँगसँगै गाइने बताइएको छ।

बाल दिवस समारोहमा आफ्नो संक्षिप्त मन्तव्य राख्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले नगरपालिकाले बालमैत्री स्थानीय शासनको दीगोपनालाई लक्षित गरेर नगरका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो। बाल अधिकार संरक्षण र सम्वर्धनमा नगरपालिका सदैव लागि परेको प्रष्ट पार्दै उहाँले सरोकारवाला सबैलाई बालमैत्री स्थानीय शासनको दीगोपनाका निम्ति नगर सँग सहकार्य गर्न समेत अनुरोध गर्नुभएको थियो।



समारोहमा बालबालिका तथा शिक्षाप्रेमी नगर प्रमुख छायाराम खनालले बाल दिवसकै अवसर पारेर नगरपालिकाले आमाबाबु  बिहिन टुहुरा/अनाथ बालबालिकाहरूको अभिभावकत्व ग्रहण गरेको बताउँदै उनीहरूको आधारभूत आवश्यकता परिपूर्तिको लागि नगरले १८ बर्ष सम्म मासिक रू. १००० दिइने पनि घोषणा गर्नुभएको थियो। नगरले बालविवाह अन्त्यका लागि काम गरिरहेको बताउँदै उहाँले नगरमा बालश्रमिकको संख्या शुन्य रहेको जानकारी पनि दिनुभएको थियो। आफ्नो कार्यकाल भित्रै भीरकोटको मौलिक स्थानीय पाठ्यपुस्तक सार्वजनिक एवं लागू गर्न पाएकोमा खुसी व्यक्त गर्दै उहाँले संविधान प्रद्त्त सबै बाल अधिकारको सुनिश्चितताका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको थियो। पाठ्यपुस्तक लेखन सम्पादनमा सहजीकरण गर्नुभएकोमा डा. खनाललाई धन्यवाद दिंदै नगर प्रमुख खनालले  पाठ्यपुस्तकको गहन अध्ययन गरी यसको  परिमार्जनमा सघाउन शिक्षकहरूलाई विशेष अनुरोध गर्नुभएको थियो। दण्ड र पुरस्कार सहितको बाल अधिकार सम्बन्धि नीति तथा कानून तर्जुमा कार्यमा नगरपालिकाले काम गरिरहेको जानकारी दिंदै उहाँले बालबालिकाको उज्ज्वल भविष्य र खुसीको लागि नगरले सक्दो पहल गर्ने बताउनुभएको थियो।

कार्यक्रममा नेपाल शिक्षक संघका अध्यक्ष लक्ष्मी रेग्मी ,दहथुम मा.वि. का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द कुमार कर्माचार्य, वडा नं ५ का अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण) लगायतले बालबालिकाको अधिकारका निम्ति भीरकोट नगरपालिकाकाले गरेका  बालमैत्री कृयाकलापहरूको प्रशंसा गर्दै संक्षिप्त मन्तव्य राख्नुभएको थियो।