चापाकोटमा जिल्ला प्रशासनको चाडपर्व लक्षित बजार अनुगमन, आधा दर्जन फर्मलाई भारी जरीवाना

स्मार्ट सम्वाददाता, चापाकोट
९ असोज २०८०



जिल्ला प्रशासन कार्यालय स्याङ्जाले चाडपर्व लक्षित बजार अनुगमन अन्तर्गत चापाकोट नगरपालिकाको बजार अनुगमन गरेको छ l चाडपर्वमा हुन सक्ने कालोबजारी तथा ठगी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा सोमबार चापाकोट नगरपालिकाको बजार अनुगमन गरिएको थियो l बजार अनुगमनमा घरेलु तथा पर्यटन कार्यालय, उपभोक्ता मंच, नगरपालिकाका कर्मचारी र प्रहरीको समेत सहभागिता रहेको थियो l अनुगमनका क्रममा करिब आधा दर्जन फर्महरू कारबाहीमा परेका छन् र उनीहरूले भारी रकम जरीवाना तिर्नुपर्ने भएको छ l
अनुगमनका क्रममा मूल्यसूची नराखेको, म्याद नाघेका सामान बिक्री वितरण गरेको, बिल विजक जारी नभएको भेटिएपछि
किसान स्टोर्स, पाठक हार्डवयर, न्यु राधाकृष्ण ट्रेडर्स, सोनी दामाचौर हार्डवेयर र खनाल स्टोर्स कारबाहीमा परेका हुन् lचापाकोटको किसान स्टोर्सलाई मूल्य सूची नराखेको र ब्लुडायमण्ड रक्सीमा रि लेवलिङ गरेको पाइएकोले १ लाख जरिवाना गरेको छ भने त्यहाँबाट केही थान डेट एक्सपाएर बिष्कुटसमेत जफत गरी नष्ट गरिएको छ ।
त्यसैगरी पाठक हार्डवयरलाई बिल विजक जारी नगरेकोमा २० हजार, न्यू राधाकृष्ण ट्रेडर्सलाई मूल्य सूची नराखेको र बिल बिजक जारी नगरेकोमा ५५ हजार र मूल्य सूची नराखेको खनाल स्टोर्सलाई ५० हजार जरिवाना तिराइएको छ । स्टोर्सबाट म्याद सकिएको घिउ ५०० ग्रामको ५ वटा, लिची जुस २८ बोतल, वेशन पीठो १ प्याकेट र सूजी एक पाकेट जफत गरी नष्ट गरिएको जिल्ला प्रसाशन कार्यालय स्याङ्जाले बताएको छ । सोनी दामाचौर हार्डवेयरले मूल्य सूची नराखेको र बिल बिजक जारी नगरेको पाइएकाले ६० हजार जरीवाना गरिएको छ l
चापाकोट नगरपालिकाले दिएको मूल्यसूची राख्ने निर्देशन पालना नगरेको देखिएकोले मूल्यसूची राख्न पुनः अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । उपभोक्ता संरक्षण ऐन २०७५ को प्रावधानअनुसार जरिवाना रकम ७ दिन भित्र बैंकमा दाखिला गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ l
