जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरू

असोज ०२, २०७८


आश्विन ०२, भीरकोट खबर डेस्क,

“स्वास्थ्यका लागी खेल, राष्टका लागि खेल” नारालाई मूल मन्त्र मानेर स्थापना गरिएको बयरघारी ब्याडमिन्टन क्लबको आयोजनामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरू भएको छ। प्रतियोगितामा जिल्ला भरीका ८४टिम सहभागी छ्न्।नगर प्रमुख छायाराम खनालको प्रमुख अतिथ्यतामा समुदघाटन भएको खेल प्रतियोगितामा उपस्थित सम्पूर्ण अतिथीहरू तथा खेलाडीरूलाई बयरघारी ब्याडमिन्ट्न क्लबका संरक्षक रामकृष्ण अर्यालले स्वागत गर्नुभएको थियो। संरक्षक अर्यालले मानसिक र शारीरिक स्वास्थ्यको लागि खेल आवश्यक रहेको बताउँदै ब्याडमिन्टन इन्डोर खेल भएकाले कभर्ड हल निर्माण गरी खेलको विकासमा सहयोग गर्न नगरपालिकालाई अनुरोध गर्नुभएको थियो।उद्घाटन समारोहको संचालन ब्याडमिन्टन क्लबका सल्लाहकार एवं युवा खेलाडी राजकुमार गुरूङले गर्नुभएको थियो ।

प्रमुख अतिथी छायाराम खनालले बयरघारी ब्याडमिन्टन क्लबको खेलप्रतिको जागरूकता र प्रयासको प्रशंसा गर्दै खेलमैदानको निर्माण गरि समग्र खेलकुदको विकासका लागि नगरपालिका तयार रहेको बताउनुभयो ।खेलकुदको विकासका लागि युवा खेलाडीहरूसँग हातेमालो गर्नलागी तयार रहेको प्रष्ट पार्दै सरोकारवाला सबैलाई रचनात्मक सहयोगका लागि आग्रह गर्नुभएको थियो।शारिरिक र मानसिक स्वास्थ्यको लागि मात्र नभएर सभ्य र अनुशासित समाजको निर्माणमा खेलकुदको महत्त्वपूर्ण भूमिका रहने बताउँदै उहाँले भीरकोट प्रज्ञा प्रतिष्ठान स्थापना गरी खेलकुद र साहित्यिक क्षेत्रको विकासका लागि तयारी गरिरहेको पनि जानकारी दिनुभएको थियो।सम्पूर्ण युवाहरूलाई सामाजिक संजालमा भन्दा खेलकुदमा रमाउन आग्रह गर्दै उहाँले प्रतियोगितालाई अनुशासित र सन्देशमूलक तरिकाले अगाडि बढाउन आयोजकलाई आग्रह गर्नुभएको थियो।युवाहरूको चाहना बमोजिम खेलकुदको विकासमा सहयोग गरेकोमा आयोजकले नगरप्रमुख खनाललाई प्रमाणपत्र सहित सम्मान पनि गरेको थियो।

भीरकोट नगरपालिका बयरघारीका ब्याडमिन्टन खेलप्रेमी युवाहरूले गतवर्ष क्लब गठन गरेपछि आयोजना गरेको पहिलो औपचारिक प्रतियोगीता भीरकोटको बसपार्क भित्र निर्माण गरिएको अस्थायी व्याडमिन्टन कोर्टमा संचालन भैरहेको छ। भीरकोट नगरपालिका मुख्य प्रायोजक रहेको उक्त प्रतियोगितामा आँधिखोला पिस युथ क्लब मुख्य सहयोगी रहेको छ । यो प्रतियोगितामा Category A र Category C गरी दुई प्रकारका प्रतिस्पर्धाहरू हुनेछ्न् । दुबै प्रकारका विजेताहरूका लागि एउटै प्रकार र राशीको पुरस्कारको व्यवस्था गरिएको व्याडमिन्टन क्लबका उपाध्यक्ष तथा खेल संयोजक सुजन गुरूङले जानकारी दिनुभयो । जस अनुसार विजेताहरूलाई प्रथम पुरस्कार नगद रू. २५,०००प्रदान गरिने छ।प्रथम पुरस्कारको प्रायोजन राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइरालाले व्यक्तिगत रूपमा गर्नुभएको आयोजकले जनाएको छ। द्वितीय पुरस्कार नगद रू. १५,००० रहेको यसको प्रायोजन भीरकोट वडा नं ८ निवासी प्रेम न्यौपानेले गर्नुभएको छ।तृतीय पुरस्कार नगद रू. ५,००० रहेको जानकारी दिंदै क्लबका अध्यक्ष ढाकाराम खनालले विजेताहरूलाई नगद पुरस्कारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने जानकारी दिनुभयो। अध्यक्ष खनालका अनुसार भीरकोट नगर क्षेत्र भित्र छरिएर रहेका ब्याडमिन्टन खेलाडीहरुलाई एउटै मन्चमा गोलबन्द गरी मैत्रीपूर्ण खेलहरू आयोजना गरिरहेको क्लबले भविष्ययमा सक्षम खेलाडीहरू उत्पादन गर्ने, क्लब मार्फत सामाजिक, धार्मिक, सांस्कृतिक, खेलकुद तथा मनोरन्जन लगायतका क्षेत्रमा काम गर्ने योजना समेत रहेको बताउनुभयो । सकेसम्म खेलको समापन आजै गरिने आयोजकले जनाएको छ। भीरकोटको एक मात्र आधिकारिक अनलाइन न्युज पोर्टल भीरकोट खबर डटकमले अफिसियल मिडियाको रूपमा प्रतियोगिता सम्बन्धि नियमित खबर प्रकाशन गर्नेछ ।