उत्कृष्ट नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि अन्तरक्रिया

असार ०५, २०८०


कला राना, वालिङ
५ असार २०८०

वालिङ नगरपालिकाले आगामी वर्षको निति तथा कार्यक्रमको लागी यहाँका राजनितिक दलहरुसंँग अन्तरक्रिया गरेको छ । नगरपालिकाले निति तथा कार्यक्रमको विषयमा चरणबद्ध रुपमा सम्बद्ध संघ संस्था तथा निकायहरुसंग अन्तरक्रिया तथा सुझाव ग्रहण गर्दै आएको छ । यसअघि यहाँका संचार माध्यम, पत्रकारहरुसंँग समेत निति तथा कार्यक्रमका विषयमा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा नगरप्रमुख कृष्ण खांँणले नगरपालिकाले आगामी वर्षको निति तथा कार्यक्रम र बजेटमा हरेक वर्गलाई समेट्दै नागरिकको जिवनमा परिर्वतन ल्याउने गरी नगरपालिका अगाडि बढेको बताए । हरेक पक्षको सुझाव तथा प्रतिक्रियाको आधारमा निति तथा कार्यक्रम र बजेट ल्याईने भन्दै नगरबासीको हितलाई प्राथामिकतामा राखिने नगरप्रमुख खांँणले प्रष्ट पारे।

नगर उपप्रमुख कविता तिवारी गैह्रेले आगामी वर्षको निति तथा कार्यक्रम समावेशी, सबै वर्ग समुदायलाई सम्बोधन हुने गरी ल्याईने बताए । नगरपालिकाले चरणबद्ध रुपमा सबै पक्षसंँग निति तथा कार्यक्रमका विषयमा सुझाव र छलफल गर्दै आएको भन्दै अबको निति कार्यक्रम र बजेट उत्कृष्ठ हुने दाबी गरे।

नगरपालिका सभाहलमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नगरसभापति नेत्रप्रसाद पाण्डे, नेकपा एमालेका नगर सचिव यमकान्त खनाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्रप्रसाद गैह्रेले कृषि, पर्यटन, पुर्वाधार विकास, ग्रामिण सडकको स्तरोन्नति र बाँदर आतंकका विषयमा आ–आफ्ना सुझावहरु प्रस्तुत गरेका थिए ।

यसैबीच उता उद्योग वाणिज्य संघले समेत नगरपालिकाको आगामी निति तथा कार्यक्रम र बजेटका विषयमा छलफल तथा अन्तरक्रिया गरेको छ । उद्योग वाणिज्य संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी संघले यहाँका व्यापारी तथा व्यवसायीहरुसंग आगामी निति तथा कार्यक्रम र बजेटका विषयमा प्रि बजेट अन्तरक्रिया गरेको हो । कार्यक्रममा यहाँका व्यापारी तथा व्यवसायीहरुले ठेला व्यापारको व्यवस्थापन गर्नुपर्नेमा बताएका छन् ।



ठेला व्यापारबाटै गुजारा गर्दै आएकाहरुको पहिचान गरी उनीहरुको उचित व्यवस्थापन गरी ठेला व्यवसाय हटाउनुपर्ने बताएका हुन् । साथै घर भाडामा एकरुपता हुनुपर्ने भन्दै बाहिरका व्यापारीले यहाँ आएर सामान बेच्दा स्थानीय व्यापारी मर्कामा परेको गुनासो गरे । पछिल्लो समय आर्थिक मन्दीका कारण व्यापारी व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था आएको भन्दै यसप्रति नगरपालिकाले आगामी निति तथा बजेटमा यस विषयलाई समेटेर लैजानुपर्ने समेत व्यापारी तथा व्यवसायीहरुको माग छ ।

साथै यहीँ उत्पादिन वस्तुको प्रयोगमा प्रोत्साहन गर्नुपर्ने भन्दै हस्तकला तथा लघु तथा साना व्यवसायीहरुको हितमा समेत नगरपालिका गम्भीर हुनुपर्ने बताएका थिए ।

सुझावहरुको ग्रहण गर्दै नगरप्रमुख कृष्ण खांँणले निजि क्षेत्रको विकासमा नगरपालिका प्रतिबद्ध रहेको भन्दै यहाँका व्यापारी व्यवसायीहरुको समस्या र गुनासाहरुलाई नगरपालिकाले गम्भीरताका साथ लिएको बताए। आगामी निति तथा कार्यक्रममा व्यापार व्यवसायलाई चलायमान बनाउनका लागी निश्चित मापदण्डका साथ अगाडि बढ्ने नगरप्रमुख खांँणको भनाई छ।

यहाँको व्यापार व्यवासय धरासयी हुँदा सिंगो नगरलाई असर गर्ने भएकाले व्यापार व्यवसायबाट भईरहेको पलायनलाई रोक्न कहाँ के गर्न सकिन्छ त्यसका लागी नगरपालिका प्रयासरत रहेको प्रमुख खांँणको भनाई छ । कार्यक्रममा उपप्रमुख कविता तिवारी, वालिङ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष शोभाकान्त पौडेल, संघका पुर्व अध्यक्ष पुण्यप्रसाद अर्याल, राजेन्द्र डुम्रे, शिवलाल डुम्रे, पुष्पा अर्याललगायतले बोलेका थिए।

कार्यक्रममा रुपेन्द्र बगाले, जयलाल गिरी, छायाँ लुईटेल, स्वीकार कोईराला, माधव कँडेल, प्रकाश डुम्रे, जगदिस पाठक, टेकलाल खनाल, खेमराज गौडेल,सिला श्रेष्ठ, अर्जुन भण्डारी, खगेन्द्र अर्याल, दुर्गा न्यौपाने, ताराप्रसाद श्रेष्ठ, संकर डुम्रे, कविता परियार, यमबहादुर गुरुङ, श्याम सुनार, खुमबहादुर थापालगायतले आ–आफ्ना सुझावहरु राखेका थिए।