विद्यालयलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सुन्तला खेतीको तयारी

असोज १७, २०८०


Krishi

स्मार्ट संवाददाता
१७ असोज २०८०

स्याङ्जाको प्रतिष्ठित सामुदायिक विद्यालय कालिका माध्यमिक विद्यालयले आफ्नो ५० रोपनी जग्गामा  सुन्तला खेती गर्ने निर्णय गरेको छ। पुतलीबजार नगरपालिका वडा नं १३ मा अवस्थित  विद्यालयले भीरकोट नगरपालिका वडा नं ७ बलमाटामा आफ्नो  स्वामित्वमा  रहेको ५० रोपनी पाखोमा नमुना सुन्तला बगैंचा निर्माण गर्ने भएको हो। विद्यालय व्यवस्थापन समिती र शिक्षक अभिभावक संघले संयुक्त रूपमा निर्णय गरी सोही प्रयोजनका निम्ति  विद्यालयलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाइ सुन्तला सुपरजोन स्याङ्जामा सूचीकृत  गरिएको छ।

विद्यालयलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सुन्तला खेती गर्ने योजना बनाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीन प्रसाद कोइरालाले जानकारी दिए। उनका अनुसार नमुना सुन्तला बगैंचामा  २ हजार  बोट सुन्तला रोप्न सकिने छ । बगैँचा निर्माणका लागि आवश्यक सुन्तलका विरूवा ,औजार उपकरण  र सिंचाइ कार्यक्रम माग सहित सुन्तला सुपरजोन स्याङ्जामा प्रस्तावना पेश गरिएको अध्यक्ष कोइरालाले बताए। “विद्यालयको शैक्षिक र भौतिक विकासका लागि दिगो आर्थिक स्रोत जुटाउन सुन्तला खेती गर्ने योजना गरिएको हो। यसबाट विद्यालयलाई वार्षिक करिब १ करोड रूपैयाँ भन्दा बढी आम्दानी हुनेछ। उक्त रकमबाट विद्यालयले प्राविधिक शिक्षा दिने योजना बनाएको छ।” अध्यक्ष कोइरालाले भने।

विद्यालयका प्रधानाध्यापक वीर बहादुर क्षेत्रीले विद्यालय व्यवस्थापन समितिका अध्यक्षको योजना अनुसार विद्यालयको स्वामित्वमा रहेका विभिन्न ३ वटा कित्तामा रहेका करिब ५० रोपनी जग्गामा सुन्तला खेती गर्ने योजना बनाइएको बताए।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

सुन्तला सुपरजोन कार्यालय र कृषि ज्ञान केन्द्र स्याङ्जाका प्राविधिकको सहयोगमा   जमिनको वैज्ञानिक व्यवस्थापन गरेपछि   बगैंचा स्थापना गरिने बताउँदै कोइरालाले  आर्थिक सहयोगको लागि पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका र अर्जुन चौपारी गाउँपालिकालाई समेत अनुरोध गरेका छन्।

सुन्तला सुपरजोन स्याङ्जाका अध्यक्ष तारा प्रसाद अर्यालले विद्यालयले अगाडि सारेको सुन्तला बगैंचा निर्माणको योजना उत्कृष्ट रहेको बताए। सुन्तला बगैंचाले ५ वर्ष देखि  आम्दानी दिने भएकाले  विद्यालयको अतिरिक्त आम्दानीको स्रोत सुनिश्चित गर्न सहयोगी हुने अर्यालको भनाई छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ सुन्तला सुपरजोन स्याङ्जाका प्रमुख माधव लम्सालले विद्यालयले पनि किसानले सरह ५० प्रतिशत अनुदान पाउने बताए। लम्सालका अनुसार जग्गाको अवस्था हेरिकन प्रती रोपनी ३० देखि ४० वटा सुन्तलाका बिरुवा रोप्न सकिन्छ। उनका अनुसार  स्याङ्जामा  कालिका मा.वि.  सुन्तला बगैंचा निर्माणको प्रस्ताव पेश गर्ने एक मात्र विद्यालय   हो। आर्थिक वर्षमा १ हजार ६ सय रोपनी क्षेत्रमा सुन्तला खेती विस्तार गर्ने योजना रहेको परियोजना प्रमुख लम्सालले जानकारी दिए।