वालिङमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा
२५ भाद्र २०८०
नेपाल सरकार मातहतको राष्ट्रिय बाणिज्य बैंकले स्याङ्जाको व्यापारिक केन्द्र वालिङमा आफ्नो नयाँ शाखा शुभारम्भ गरेको छ । नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले आइतबार वालिङ शाखाको उद्घाटन गरेका हुन् । विसं २०२२ माघ १० गते स्थापना भएको बैङ्कको २८२ औं शाखाको रूपमा वालिङ शाखा स्थापना भएको हो ।
उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरूङले राष्ट्रिय वाणिज्य बैंकले जनताको विश्वास जितेर जनउत्तरदायी र पारदर्शी ढङ्गले काम गर्ने विश्वास व्यक्त गर्दै देशको अर्थतन्त्र विकासका लागि बैंकले उपयोगी कदम चाल्नुपर्ने बताए।देशको विकासमा बैंकहरुको महत्वपुर्ण भुमिका रहने हुँदा साना उद्योगी व्यवसायीको हित हुनेगरी बैंकले लगानी गर्नुपर्ने मन्त्री गुरूङको धारणा थियो । वाणिज्य बैंक सरकारी बैंक भएकाले सरकारले बोकेका आर्थिक उत्तरदायित्व अनुसार काम गर्न मन्त्री गुरुङ्ले सुझाव दिएका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद भोजराज अर्यालले बैंकहरु अझै दुरदराजका जनतामा पुग्न नसकेको टिप्पणी गरेका थिए । दुरदराजमा रहेका जनताको पहुँचमा बैंक नपुगेसम्म मुलुकले आर्थिक उन्नती गर्न नसक्ने अर्यालको धारणा छ। बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले वाणिज्य बैंकले अब व्यवसायी र किसानको हित हुने गरि काम गर्ने कुरामा जोड दिएका थिए।
कार्यक्रममा बोल्दै वालिङ नगर प्रमुख कृष्ण खाँण, नेपाली काँग्रेसका नगर सभापति नेत्रप्रसाद पाण्डे, नेकपा एमालेका नगर अध्यक्ष शोभाकान्त पौडेल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ लगायतले सरकारी बैङ्क नाफामुखी भन्दा पनि जन कल्याणकारी बन्नुपर्ने धारणा व्यक्त गरेका थिए।
वालिङमा राष्ट्रिय बाणिज्य बैंकको शाखा खुलेसगै कर्मशियल बैंकको संख्या १६ पुगेको छ । स्याङ्जाका पुतलीबजार र अर्जुनचौपारीमा राष्ट्रिय वाणिज्य बैंकका शाखाहरू यस अघिनै स्थापित भैसकेका छन् ।