अर्जुनचौपारीमा सामाजिक उत्तरदायित्व कोषको कार्यविधी बन्दै

असार २२, २०७९


स्मार्ट अखबार संवाददाता , स्याङ्जा 
२०७९ असार २२ 

जिल्लाको अर्जुनचौपारी गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरुले  पाउने मासिक तलब र अन्य सबै प्रकारका भत्ताको दश प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा राख्ने निर्णयको विधिवत कार्यान्वयन गर्नको लागि कार्यविधी बनाउन लागिएको पालिकाले जनाएको छ ।

जननिर्वाचित सम्पूर्ण प्रतिनिधिहरु गाउँपालिका अध्यक्षदेखि सदस्यसम्मका सबैले आफ्नो मासिक तलब र भत्ताको दश प्रतिशत रकम अनिवार्य रुपमा सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्ने र त्यो जम्मा गरिएको कोषको पैसा सामाजिक सेवाका विभिन्न क्षेत्रहरुमा खर्च गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । यसका लागि गाउँसभाबाटै सर्वसम्मत निर्णय गरिएको तिवारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी नयाँ निर्वाचित भएर आएका सबै जनप्रतिनिधिहरुले आफूले पाउने तलब र भत्ताको दश प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्ने र त्यस्तो रकमलाई निश्चित कार्यविधि बनाएर गरिब, विपन्न तथा आर्थिक रुपमा पिछडिएका, अपाङ्ग वा उपचार नपाएकाहरुलाई उपचार गराउने लगायतका काममा खर्च गर्छौँ । यसका लागि कार्यविधि बनाउँदै छौं ।’ उहाँले भन्नुभयो, ‘हामी समाजका प्राणी हौं । समाजका प्रति हाम्रो निश्चित दायित्व छ । त्यही दायित्वबोध गरेर यो निर्णय गरेका हौँ ।’

‘पालिकाको बजेट एकदमै कम छ । जनताका अपेक्षाहरु धेरै छन् । स्याङ्जा जिल्लाको सबैभन्दा कम विकास भएको पालिकाका रुपमा यसका सूचकहरु देख्दा मलाई पीडा भएको छ । यसलाई बदलेर पालिकाको विकासलाई अगाडि बढाउने चुनौती छ ।’ उहाँले भन्नुभयो, ‘यसपालि थोरै बजेट आउने पालिकामध्ये अर्जुनचौपारी पनि हो । बजेटको आकार घटेको छ । हामीले अनावश्यक खर्च हटाउँदै मितव्ययी र पारदर्शी तरिकाले सरकार चलाउने योजना बनाइरहेका छौँ ।’ पालिकामा संचालन हुने कुनै पनि बैठक, तालिममा उपस्थित भएवापत समेत पालिका प्रमुख र जनप्रतिनिधिहरूले भत्ता लिने प्रचलनलाई तोड्न लागिएको जानकारी   दिदै उहाँले सामाजिक उत्तरदायित्व कोषको दायरा फराकिलो बनाउन पालिकाका जनता र शुभेच्छुक सबैलाई आफ्नो इच्छा अनुसारको रकम जम्मा गर्न पाउने व्यवस्था गर्न लागिएको बताउनुभयो। कोषको आम्दानी र खर्चलाई पारदर्शी बनाउन कुनै कसर बाँकी नराखिने समेत उहाँले प्रष्ट पार्नुभयो।

तिवारीले सामान्य खर्च र आम्दानीसमेत जनताले थाहा पाउने गरी सार्वजनिक गर्ने, पालिकामा कुनै पनि सामान खरिद गर्दा भएको खर्च पनि जनताले सामाजिक सन्जालबाटै थाहा पाउने गरी पारदर्शी शैली अपनाउने समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा अहिले कार्यालयलाई चाहिने सामान खरिदका क्रममा भ्रष्टाचार बढी भएको सूचनाहरु आइरहेका छन् । हामी यो प्रवृत्तिलाई पूर्ण रुपमा रोक्छौँ ।’

गाउँपालिका उपाध्यक्ष सपना गुरुङले भन्नुभयो, ‘समाजका प्रतिको हाम्रो आफ्नो उत्तरदायित्व छ । यही उत्तरदायित्वलाई थोरै भए पनि पूरा गर्ने प्रयास अनुसार सामाजिक उत्तरदायित्व कोष बनाएका छौं ।’ गुरुङले बजेटले नछुने तथा मानवीय रुपमा गर्नुपर्ने सेवाका कामहरुमा यो पैसा खर्च हुने र यसका लागि कार्यविधि नै निर्माण भइरहेको बताउनुभयो ।