सुशासनका लागि जनताको खबरदारी आवश्यक : अध्यक्ष तिवारी

चैत २४, २०७९


नारायण प्रसाद कोइराला, अर्जुनचौपारी
२४ चैत्र २०७९

विज्ञापन

अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले पालिकामा सुशासन कायम गर्न जनताको खबरदारी अत्यावश्यक रहेको बताएका छ्न्। आर्थिक वर्ष २०७९/८० को दोस्रो चौमासिकमा पालिकाले सम्पादन गरेका गतिविधि र सेवा प्रवाहको विषयमा पालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा सेवाग्राहीले उठाएका सवालहरूको जवाफ दिंदै अध्यक्ष तिवारीले सो कुरा बताएका हुन्। उनले भने, “गाउँपालिकामा समृद्धि , सुशासन कायम गर्दै जनापेक्षा बमोजिम विकास गर्न सम्पूर्ण जिम्मेवार जनताहरूलाई जनप्रतिनिधि र कर्मचारीलाई निरन्तर सल्लाह , सुझाव र खबदारी गर्न अनुरोध गर्दछु।”

हरेक चौमासिकमा फरकफरक वडामा सार्वजनिक सुनुवाइ गर्दै आएको गाउँपालिकाले यस पटक वडा नं ६ को कार्यालय पोखरीस्वारा दरौंमा सार्वजनिक सुनुवाई गरेको थियो। दरौँखोला मिडिया प्रालिद्धारा संचालित खबर कलमले सहजीकरण गरेको सार्वजानिक सुनुवाईमा प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल बहादुर बस्नेतले आर्थिक वर्ष २०७९/८० को दोस्रो चौमासिक सम्म पालिकाले हाँसिल गरेका वित्तीय, भौतिक, आर्थिक र सामाजिक प्रगतिका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए।

करिब २ सय जनाको सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, खानेपानी र सडक पूर्वाधारका विषयमा बारेमा आफ्ना गुनासा, जिज्ञासा र सल्लाह सुझाव व्यक्त गरेका थिए । सहभागीहरूले सामुदायिक विद्यालयहरुमा योग्यताका आधारमा शिक्षकहरूलाई पदस्थापन एवं सम्मान गरिनुपर्ने, अंग्रेजी माध्यम भनि संचालन भएका विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए । साथै सहभागीहरूले अध्यक्ष तिवारीको नेतृत्वमा भएका विकास र सुधारका प्रयासहरूको प्रशंसा समेत गरेका थिए।



कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिकाबासीलाई आधारभुत आवश्यकताहरु शिक्षा, स्वास्थ्य, खानेपानी, सडक जस्ता आधारभुत आवश्यकताको सहजताका लागी पालिका प्रतिबद्ध भएर अगाडि बढेको बताए। पालिकाभित्र संघ तथा प्रदेशको योजना अन्तर्गत संचालित लिफ्टिङ खानेपानीलाई निरन्तरता तथा दिगोपनाका लागी विद्युत निशुल्क उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरेका थिए। उनले कुनै पनि काम वा योजना बिग्रनुभन्दा पहिल्यै सल्लाह सुझाव र खबरदारी गर्न सर्वसाधारणलाई पटकपटक अनुरोध गरेका थिए। चालु आर्थिक वर्षमा हेलु-अर्जुनचौपारी सडक कालोपत्रे सम्पन्न गरिने भन्दै यसले पालिकाबासीलाई सिधा राजमार्गमा जोडिनका लागी सहज हुने बताए।

कार्यक्रमममा उपप्रमुख सपना गुरुङले पालिकामा न्यायिक सेवालाई चुस्त राख्न वडा तहमा न्यायिक समिति मार्फत काम गरिएको बताइन्। महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनका लागी विभिन्न सिपमुलक तालिमहरु प्रदान गरिएको भन्दै महिलाहरुलाई संगठित बनाई विकास निर्माणमा समेत सहभागी गराइएको बताएकी थिइन्।