भीरकोटमा काँग्रेसको अगुवा कार्यकर्ता प्रशिक्षण
साम संवाददाता, भीरकोट।
नेपाली काँग्रेस भीरकोट नगर कार्यसमितिले नगरभित्र रहेका पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पूर्व पदाधिकारी, भातृ तथा शुभेच्छुक संस्थाका सदस्य तथा अगुवा कार्यकर्ता सहभागी प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।
भीरकोट २ स्थित आँधिखोला सिटी हलमा भएको सो प्रशिक्षणको उद्घाटन गर्दै पार्टीका पूर्व जिल्ला सभापति एवम् राष्ट्रिय सभाका पूर्व सांसद खगेन्द्रराज रेग्मीले राष्ट्रियता, लोकतन्त्र र समाजवादको आधारमा सबै एक रहेको र तिनै विचारले निर्दिष्ट परिवर्तनका उपलव्धिहरुमा समेत एकता हुन सके पार्टीमा कुनै गुट–उपगुट नरहने विचार व्यक्त गर्नुभयो । परिवर्तनको स्वामित्व काँग्रेसले लिएर पार्टीको नेतृत्वमा भएका राजनीतिक परिवर्तनहरुमाथि गौरव गर्दै गर्दा अझै पनि महाधिवेशनको कुरालाई लिएर गुटगत राजनीति गर्ने कार्यले पार्टीलाई क्षति पुर्याउने तर्फ सबै सचेत रहनु पर्ने उहाँको धारणा थियो ।
भीरकोटका नगर सभापती यामप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न प्रशिक्षण सत्रमा गण्डकी प्रदेशका महामन्त्री विष्णु प्रसाद लामिछाने, निबर्तमान का.बा. जिल्ला सभापती कुमार राना, ट्रेड युनियन काँग्रेसका पूर्व जिल्ला सभापती जिबलाल काफ्ले र प्रदेश सभा २ (क)का सचिव अमृत अर्यालले प्रशिक्षण दिनुभएको थियो।