कृषि पेशाको सम्मान विना देशको विकास हुन सक्दैन : नगर प्रमुख खाँण

असार १९, २०७९


गोपाल जिटी,वालिङ
१९ असार२०७९

वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले राष्ट्रले कृषकको सम्मान गर्नुपर्ने बताउनु भएको छ । वालिङमा आयोजित नगरस्तरीय गाईभैँसी पालन सम्बन्धी तीन दिने तालीमको अवसरमा नगरप्रमुख खाँणले कृषकहरुको काम र कृषि पेशाको सम्मान विना देशको विकास हुन नसक्ने भएकोले सबैले कृषकहरुलाई सम्मान गर्नु पर्ने बताउनुभयो । वालिङ नगरपालिकाले आगामी दिनहरुमा कृषकलाई सम्मान तथा कृषि काममा प्रोत्साहन गर्न विशेष कार्यक्रमहरु ल्याउने नगरप्रमुख खाँणको भनाइ थियो ।

नगरप्रमुख खाँणले कृषि उत्पादनमा वृद्धि ल्याउन र किसानको मनोबल बढाउन आवश्यक रहेको उल्लेख गर्दै उत्पादित वस्तुहरुलाई बजारीकरण गर्ने कुरालाई नगरपालिकाले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम समेटेको समेत जानकारी दिनुभयो । कृषिजन्य उत्पादनमा वृद्धि ल्याउन सके मात्रै समृद्धि संभव हुने समेत उहाँले बताउनुभयो । नेपालको पछिल्लो परिवेशमा शैक्षिक बेरोजगारको सङ्ख्या बढिरहेको अवस्थामा पशुपालन तथा कृषि व्यवसाय गरेर आर्थिक आम्दानी गर्न युवापुस्ता उद्धत हुनुपर्नेमा नगर प्रमुख खाँडले जोड दिनुभयो ।



नगरप्रमुख खाँणले उत्पादनमा आधारित भएर अनुदान दिनेदेखि किसानहरुलाई बीउपूँजिको व्यवस्था सहित विगतका वर्षहरुमा भन्दा यस पटक कृषिमा बजेटको मात्रा बढाएकोसमेत जानकारी दिनुभयो । उहाँले तालीममा सिकेका विषयहरुलाई व्यवहारमा उतार्न किसानहरुलाई अनुरोध गर्दै उत्पादित वस्तुहरुको बजारीकरणको लागि नगरपालिकाले पूर्ण व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

तालीममा सहभागी पशुपालक कृषकहरुले समय समयमा तालीम तथा गोष्ठीको आयोजना गर्न नगरपालिकालाई अनुरोध गरेका छन् । तालीम तथा सेमिनारहरुले व्यवसायिक सीपको विकास हुँदै उत्पादनमा पनि वृद्धि गर्न सकिने उनीहरुको सुझाव छ । असार १७ गतेदेखि तीन दिनसम्म चलेको तालिममा वालिङका २८ जना व्यवसायिक पशुपालक किसानहरुको सहभागिता रहेको थियो ।