स्थानीय पाठ्यपुस्तक छपाइमा २० लाख अनियमितता

जेठ २८, २०८१     रबि थापा, काठमाडौं


स्याङ्जाको भीरकोट नगरपालिकाले स्थानीय पाठ्यपुस्तक “हाम्रो भीरकोट” छपाइमा झन्डै २० लाख रुपैयाँको अनियमिता गरेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा १ देखि ८ कक्षासम्मको स्थानीय पाठ्यक्रम छाप्दा इमिस मा प्रविष्ट भएको विद्यार्थी तथ्याङ्क सङख्याभन्दा अत्याधिक पुस्तक छापेर १९ लाख ९० हजार अनियमित भएको खुलेको छ ।

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा भनिएको छ, “स्थानीय पाठ्यक्रम सम्बन्धी पुस्तक छपाइमा विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन निर्देशिका २०७८\०७९ को क्रियाकलाप नम्बर २.७.१३.३ मा स्थानीय तह अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयका विद्यार्थीका लागि प्रति विद्यार्थी लागतका आधारमा शिक्षण सिकाइ सामाग्री खरिद गर्नुपर्ने व्यवस्था रहेको छ ।”

पालिकाले सरकारी स्रोतको उच्चतम उपयोग हुने सुनिश्रित गरी खरिद कार्य गर्नुपर्नेमा कक्षा १ देखि ८ को स्थानीय पाठ्यक्रम छपाई गर्दा आईमिसमा प्रविष्ट भएको विद्यार्थी तथ्याङ्क संख्याभन्दा अत्यधि पुस्तक छपाइमा रु. १९ लाख ९१ हजार खर्च गरेको महालेखाको प्रतिवेदनले जनाएको छ ।

कार्यालयले खर्च आवश्यकता एंव मितव्ययितालाई ध्यान राख्दै सरकारी स्रोत साधनको दुरुपयोग नहुने किसिमले खरिद कार्य गर्न प्रतिवेदनले औंल्याएको छ ।