भीरकोटमा नदीजन्य निर्माण सामाग्री उत्खनन, निकासी खुल्ने

कार्तिक १०, २०७८


कार्तिकः १० भीरकोट

भीरकोट नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्रको आँधिखोलाको ढुङ्गा, गीटी, बालुवा लगायतका नदिजन्य निर्माण सामाग्रीहरूको उत्खनन, संकलन, निकासी तथा ओसारपसारको कार्य ट्याक्टर व्यवसायीहरूका लागि खुला गर्ने भएको छ।गत असोज २३ गते बसेको नगरपालिकाको बोर्ड बैठकले आँधिखोलाको नदिजन्य निर्माण सामाग्री व्यवसायीहरूलाई उत्खनन, संकलन, निकासी तथा ओसारपसार गर्न दिने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा यही कार्तिक ७ गते एक सूचना जारी गर्दै १५ दिन सम्मका व्यवसायीहरूका लागि आँधिखोला खुला गरिने नगरपालिकाले जनाएको छ।नदीजन्य निर्माण सामाग्री उत्खनन, संकलन, निकासी तथा ओसारपसार गर्न चाहने व्यवसायीले सूचना प्रकाशित भएको मितिले ७ भित्र नगरपालिकाको नाममा रहेको मेगा बैंक लिमिटेडको आन्तरिक राजस्व खातामा नगद रू ५०,०००/- जम्मा गरि बैंक भौचर, ट्याक्टरको व्लुबुक र चालकको फोटो सहित नगरपालिकामा निवेदन पेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ।सूचनामा जनाइए अनुसार झारखाम पुल देखि वालिङको सिमाना सम्म र हेलु आसपासका नगरपालिकाको क्षेत्राधिकारका ठाउँबाट मात्रै आँधिखोलाको नदिजन्य निर्माण सामाग्री उत्खनन, संकलन , निकासी तथा ओसारपसार गर्न पाइने जनाएको छ।

नगरपालिकाले नदीजन्य निर्माण सामाग्री प्रशोधन केन्द्र संचालनमा ल्याएपछि खोला व्यवसायीहरूका लागि बन्द गरिएको थियो।पहुँचवाला र अटेर व्यवसायीहरूले बन्द अवधिमा पनि अवैध उत्खनन र निकासीको प्रयास गरिरहेका थिए।नगर प्रहरी र दहथुम प्रहरी चौकीले अवैध उत्खनन र चोरी निकासी नियन्त्रण गर्न नियमित अनुगमन र गस्ती गर्दै आएका थिए।यसक्रममा प्रहरीकै सहयोगमा चोरी निकासीमा संलग्न व्यवसायीहरूलाई कार्वाही समेत गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिनुभयो।अब कार्वाही गरिएका व्यवसायीहरूले वैध उत्खनन गर्न अनुमती पाउँछन् या उनीहरूलाई यो वर्षको लागि कालो सूचीमा राखिन्छ त्यो भने हेर्न बाँकी नै छ।