समुदाय आफैं घाट व्यवस्थापन गर्दै : छैन सरकारको ध्यान

फागुन २१, २०७८


फागुन २१, २०७८

युवराज पाैडेल, स्याङ्जा

 

स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका वडा नं ५ एकराहेस्थित ठुलीबराहे जाने बाटो नजिकै नागडाँडा कार्किनेटा सडकभन्दा ५० मिटर तल एउटा शिवालय मन्दिर र एउटा सामुदायिक भवन देख्न सकिन्छ । त्यसको ३०० मिटर उत्तरपश्चिममा मानिसको मृत्युपछि शव जलाउने वा दाहासंस्कार गर्ने भौतिक संरचना छ । साथै घाटको नजिकै मलामीलाई असिना पानीबाट ओत लाग्न टिनको ओतसहितको एउटा ट्रस्ट पनि बनाइएको छ । नागडाँडाबाट सेतीदोभान एकराहे हुँदै कार्किनेटा जाने बाटोमा बराहे खोला नजिकै सडकभन्दा मुनि बाटैबाट यी सबै संरचना देख्न सकिन्छ ।

मानिसको मृत्युपछि दाहासंस्कार गर्ने परम्परालाई व्यवस्थित र वैज्ञानिक बनाउने प्रयत्न स्वरुप यहाँ विभिन्न कामहरु समुदायको प्रयासमा भएका छन् । यहाँ शव जलाउने दाउरादेखि किरियापुत्रीका लागि आवश्यक तथा किरियापुत्रीको घरमा चाहिने विभिन्न सामग्रीहरु भवनभित्र सुरक्षित गरेर राखिएका छन् । जस्तैः किरियापुत्रीका लागि चाहिने भाँडाकुँडा, कुर्ने मान्छेका लागि चाहिने कुर्ची, कम्बल, पाल, पछ्यौरा, म्याट, ताउला, थाल, कचौरा, गिलास, तामाका भाँडाकुँडादेखि रामायण महाभारतका किताबसम्म राखिएको छ ।

यहाँ ठुलादेखि ससाना मसिना कुराहरु पनि एकदमै ध्यान दिएर व्यवस्था गरिएको छ । यहाँ भवनभित्र भण्डारन गरिएका सबै सामग्री समुदायका जोकोहीले पनि सजिलै उपयोग गर्न सक्दछ । शव दाहासंस्कार गरिसकेपछि मलामीलाई चिया खुवाउनका लागि आवश्यक सामग्री पनि व्यवस्था गरिएको छ । स्मरण रहोस् दाहासंस्कार गरेकै दिन मलामी खुवाएर चोख्याउने चलनको सुरुवात गरिएको छ ।



मुक्तेश्वर महादेव घाट मन्दिर नामबाट चिनिने यो सामुदायिक संस्थाको उद्देश्य गरिबी निवारण तथा सामाजिक समानता हासिल गर्नु रहेको यस संस्थाका परिकल्पनाकार कुलानन्द शर्माको भनाइ छ । उहाँले भन्नुभयो, ‘मानिस मर्दा रामदी वा पोखरा लैजानुपर्ने अवस्था गरिबहरुका लागि आर्थिक हिसाबले निकै बोझिलो देखिएकाले हामीले यो संस्थाको परिकल्पना गरेका हौं ।’ उहाँले भन्नुभयो, ‘यो संस्थाबाट केवल दाहासंस्कारमात्र नभई यससँग जोडिएका केही सुधार्नुपर्ने पक्षहरुलाई सुधार्ने प्रयत्न भएको छ । सामाजिक परिवर्तनको प्रयास समेत गरिएको छ ।’

यस संस्थाका सचिव डिल्लीरमण पौडेलले भन्नुभयो, ‘गरिब र  विपन्न वर्गका मानिसहरुको मृत्यु हुँदा परिवारमा आर्थिक समस्याका कारण हुने पीडालाई कम गर्ने उद्देश्यले यो घाट व्यवस्थापनको परिकल्पना गरिएको हो ।’

यहाँ मानिस मर्दा घरघरबाट दाउरा लैजाने चलन छ । दाहासंस्कार गर्दा दाउरा नपुग्ने स्थिति भयो भने त्यसका लागि अतिरिक्त जगेडा दाउरा सामुदायिक भवनमा राखिएको हुन्छ, त्यहीबाट काम चलाइन्छ । बढी भएका दाउरा त्यहीँ जम्मा गरिन्छ ।

मानिसको मृत्युपछि शव दाहासंस्कार गर्दाको दिनमै मलामी चोख्याउने चलन बसाल्न खोजिएको देखिन्छ । यसबाट १३ औं पुण्य तिथिमा मलामी बोलाएर पुनः खुवाउन नपर्ने गरी व्यवस्थापन गर्न यस संस्थाका व्यक्तिहरु लागिपरेको देखिन्छ । विपन्नहरुका लागि पुनः १३ दिनमा खुवाउनुपर्ने अवस्था थप बोझिलो बन्दै गएको महसुस गरेर यो प्रयास गरिएको संस्थाका पदाधिकारीहरुको भनाइ रहेको छ ।

भेटी लैजाने चलनमा पनि केही सुधार गर्ने प्रयत्न गरिएको देखिन्छ । यसमा समुदायका जोसुकै मानिसको मृत्यु हुँदा पनि सबैले रु ७० र एक माना चामल लैजाने नियम बनाइएको छ । यसो गर्दा आफ्नो मान्छे गुमाएको परिवारलाई थोरै आर्थिक राहत हुन्छ भन्ने दृष्टि राखिएको पाइन्छ ।

यहाँ यसभन्दा अगाडि मानिसको मृत्यु हुँदा दाहासंस्कारका लागि राम्दी वा पोखराको सेती लैजाने प्रचलन थियो । यस ठाउँबाट राम्दी वा सेती लैजानु दूरीका हिसाबले निकै लामो रहेकाले यातायात खर्च पनि निकै महङ्गो पर्न जाने यस संस्थाका सदस्य तुलसीराम पनेरु बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यहाँबाट राम्दी वा पोखराको सेती लैजाँदा लामो दुरी पर्ने हुनाले पैसा पनि धेरै खर्च हुने र जोखिम पनि उत्तिकै हुने अवस्था थियो । कयौं  पटक यहाँका मलामीहरु दुर्घटनामा परेको स्थिति समेत थियो ।’

यो घाट बनाउँदा वातावरणीय सौन्दर्यमा असर नपरोस् भन्ने कुरामा सचेतता अपनाइएको देखिन्छ । यहाँ टायर वा अन्य कुनै प्रदुषित वस्तुको प्रयोग गरिँदैन । सामुदायिक भवन वरिपरि केरा, रुद्राक्ष, निम, बेल, धुपी, लिची, पयूँ लगायतका रुखका बिरुवाहरु रोपिएका छन् । घेराबार नहुँदा ती रुखहरु छाडा पशुचौपायले खाइदिएर क्षति पु¥याएको स्थानीय संरक्षकहरुको गुनासो रहेको छ ।

यहाँ सामुदायिक भवनसँगै रहेको शिवालय मन्दिरमा शिवरात्रिका दिन भव्य पूजा गरिन्छ । यहाँ त्यस दिनमा वरिपरिका थुप्रै मानिसहरु जम्मा भएर पूजा आराधना गर्ने, प्रसाद ग्रहण गर्ने, भजन कीर्तन गर्ने, धुनी बाल्ने लगायतका कामहरु गरिने यसका सदस्य विष्णुप्रसाद शर्माले बताउनुभयो ।

नागडाँडा कार्किनेटा सडक स्तरोन्नतिका क्रममा यतिबेला यसको शौचालय र सामुदायिक भवनमा क्षति पुगेको छ । सडकदेखि सामुदायिक भवन र मन्दिरसम्म पुग्ने बाटो सम्पूर्ण रूपमा पुरिएको छ । यहाँ तारजाली वा घेराबार नहुँदा सामुदायिक भवनमा मानिसहरूले धान, पराल आदि राख्ने र अन्य तरिकाले दुरुपयोग गरिरहेको अवस्था देखिन्छ । शव लैजाने बाटो सडक स्तरोन्नतिका क्रममा पुरिएको छ । अहिले शव  लैजान त परै जाओस् रित्तो मान्छे हिँड्न पनि गाह्रो परिरहेको स्थानीय जयराम पोख्रेलले बताउनुभयो ।

संस्थाका सदस्य कमलापति शर्मा भन्नुहुन्छ, ‘यहाँ घेराबार नहुँदा पशु चौपाय भवन वरिपरि पसेर यहाँका बोटविरुवा खाइदिने गरेका छन् । घेराबार गर्ने, बाटो बनाउनेलगायतका कामका लागि सरकारी निकायमा हारगुहार गरे पनि सबैले कानमा तेल हालेर बसेको देखिन्छ ।’

यो संस्था यहाँका व्यक्ति र समुदायको सहयोगमा स्थापना गरिएको हो । यसमा तत्कालीन समयमा थमनबहादुर बोगटी, चित्रबहादुर केसी, रुद्रबहादुर केसी, दीपक केसी, रमेश केसी, बलबहादुर केसी, लालबहादुर केसी, रमेश थापा लगायतका स्थानीयले जग्गा दिएर बनाइएको थियो । यसमा स्थापनाका समयमा मुक्तिनाथ विकास बैङ्क र गरिमा विकास बैङ्ले समेतआर्थिक सहयोग गरेका थिए । तत्कालीन गाउँ विकास समितिले पनि भवन निर्माणका क्रममा सहयोग गरेको थियो भने अहिले सङ्घीयता पछि बनेको वडा नं ५ बाट वडाध्यक्ष कृष्णप्रसाद पनेरुको सकारात्मक सहयोगबाट वडाको बजेट अन्तर्गत यस संस्थाले शौचालय निर्माण र घाटको निर्माणमा रु ३ लाख ५० हजार रुपिया प्राप्त गरेको छ । यी बाहेक अन्य कुनै सरकारी निकायहरुले यसमा कुनै सहयोग गरेका छैनन् । गाउँपालिका सरकारले पनि यसमा त्यति चासो नदेखाएको संस्थाका सदस्यहरुको गुनासो रहेको छ ।

प्रदेश सरकार वा सङ्घीय सरकारले पनि यस्ता संस्थाको संरक्षणका लागि ध्यान दिनुपर्ने हो तर उनीहरु पनि त्यति चासो देखाएको पाइँदैन । यस संस्थाका संस्थापकहरुले प्रदेश सरकारसँग यसको भौतिक संरक्षण र विकासका लागि पटक पटक फाइल पेस गर्दा पनि बजेट नपारिएको उनीहरुको गुनासो छ ।

संस्थाका अध्यक्ष शर्माले भन्नुभयो, ‘हामीले गाउँपालिकादेखि प्रदेश अर्थ मन्त्रालय तथा अन्य निकायहरुमा समेत बजेटका लागि प्रक्रिया अगाडि बढायौं । सबैले अर्को वर्ष भन्दै झाडा टार्ने काम मात्र गरे । हाम्रो कुराको सुनुवाई नै भएन । हामी भुइँमान्छेको पहुँच नपुगेर होला भनेर चुप्प लागेर नै बस्नुपर्यो ।’

संस्थाका संस्थापक सदस्य नन्दलाल शर्मा भन्नुहुन्छ, ‘व्यक्तिसँग पैसा उठाएर नितान्त समुदायको पहल र प्रयासमा यति राम्रो काम गर्दा पनि सरकारबाट भने जस्तो सहयोग नमिल्नु दुःखलाग्दो छ । सरकारी निकायहरुले यस्तो सामाजिक परिवर्तन र समानताका लागि काम गरिरहेको संस्थाको हितमा अलिकति पनि ध्यान नदिनु बिडम्बना हो ।’संस्थाका संस्थापक सदस्य थमन बोगटीले भन्नुभयो, ‘मलामीलाई खाजा खुवाउने भान्साघर आवश्यक परेको छ । अहिले भएको सामुदायिक भवनमा सामग्री राख्न साँघुरो भइसकेको छ ।’

नेपालको संविधानदेखि सबै नीति तथा योजनाहरुले गरिबी निवारण र सामाजिक समानतालाई प्राथमिकतामा राखेको देखिन्छ । नेपालको संविधान २०७२ ले समाजवादको परिकल्पना गरेको छ। त्यो समाजवादमा पुग्नका लागि गरिबी हटाउनु र सामाजिक समानता कायम गर्नु नितान्त आवश्यक छ ।

के यस्ता संस्थाहरुलाई उपेक्षा गरेर संविधानको समाजवादको परिकल्पना साकार होला ? समुदायको प्रश्न छ– सरकारले आफै गर्नुपर्ने काम व्यक्ति र समुदायले गर्दा पनि त्यसतर्फ सम्बन्धित निकायहरु किन बेखबर बसिरहन्छन् ?