आँधिखोला सहकारी १७ वर्षमा प्रवेश

कार्तिक १५, २०८०


स्मार्ट सम्वाददाता, भीरकोट

१५ कार्तिक २०८०, बुधबार

भीरकोट नगरपालिकाको पहिलो बचत तथा ऋण सहकारी संस्था आँधिखोला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ l नगर प्रमुख गोविन्दकुमार कर्माचार्यको प्रमुख आतिथ्यतामा र सहकारीका अध्यक्ष तोयानाथ अर्यालको अध्यक्षतामा सम्पन्न भएको समारोहमा शेयर सदस्य, सहकारीकर्मी र सहकारी अभियान्ताहरूको राम्रो उपस्थिति रहेको थियो l “आजको बचत, भोलिको भविष्य” नारा सहित वि. सं. २०६४ सालमा स्थापना भएको  यस सहकारीलाई बयरघारी बजारको पहिलो बैंकको रूपमा समेत लिने गरिन्छ l

बयरघारी बजारमा रहेको तमु समाज भवनमा आयोजित साधारण सभामा नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले भीरकोट सेरोफेरोमा सहकारी अभियानलाई मजबुत बनाउन आँधिखोला सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताए l नगर प्रमुख कर्माचार्यले सहकारीहरूको संख्या बढ्दै गएकाले नगरपालिकाले सहकारीमैत्री भएर  सबै सहकारीलाई नियमन र व्यवस्थित गर्न लागेको जानकारी दिए l

सहकारी १७ औं वर्षमा प्रवेश गरेकोमा खुशी व्यक्त गर्दै सहकारीका अध्यक्ष तोयानाथ अर्यालले सहकारी सदस्यहरूको हितलाई पहिलो प्राथमिकता दिएर संस्था संचालन गरिएकाले निर्धक्क भएर बचत तथा ऋणको कारोबार गर्न सदस्यहरूलाई आग्रह गरेका थिए l

निवर्तमान नगर प्रमुख एवम् सहकारी अभियान्ता छायाराम खनालले सहकारीहरूले कृषि र उद्यमशिलतालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए l जिल्ला बचत तथा ऋण सहकारी संघ, स्याङ्जाका अध्यक्ष रविन्द्रमान श्रेष्ठले स्याङ्जाको सहकारी अभियान सकारात्मक दिशामा अगाडि बढिरहेको बताउँदै सहकारी र सदस्यहरूले सहकारीको सिद्दान्त बमोजिम काम गरे सहज रूपमा अपेक्षित समृद्दी हाँसिल गर्न सकिने दाबी गरे l

राष्ट्रिय सहकारी बैंक वालिङका प्रमुख टिकाराम अधिकारीले सहकारी संस्थाको मालिक सदस्य नै भएको हुँदा सहकारीलाई सुदृढ बनाउने अभियानमा सबै सदस्यहरूले हातेमालो गर्नुपर्ने धारणा राखे l  शुभलक्ष्मी सहकारीका अध्यक्ष भक्त बहादुर के.सीले भीरकोटका सहकारीमा तरलता अधिक रहेको जानकारी दिदै पालिका भित्र उद्यमशीलता प्रवर्धन गर्न पालिका र सहकारी मिलेर अगाडि बढ्नुपर्ने बताए l

१ हजार ६३ जना शेयर सदस्य रहेको यस सहकारीको शेयर पूँजी २ करोड ३४ लाख ५ हजार ४ सय रहेको छ l ६ करोड ४८ लाख  ५७ हजार निपेक्ष संकलन गर्न सफल सहकारीले करिव ६ करोड ३०  लाख ऋण लागनी गरी गत आव २०७९/८० मा संस्थाले २२ लाख ४५ हजार मुनाफा आर्जन गरेको छ l कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने सेवाग्राही, जेष्ठ नागरिक र विद्यार्थीहरूलाई सम्मान गरिएको थियो l

बिज्ञापन