नवनिर्मित वडा कार्यालयको उद्घाटन

फागुन ११, २०७८


स्मार्ट अखबार संवाददाता, ११ फागुन २०७८



आँधीखोला गाउँपालिका वडा नम्बर ४ बाङसिङको नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । एक समारोहकाबीच गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्नुभएको हो । गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलको विशेष आतिथ्यता र वडा नं. ४ का वडा अध्यक्ष चिन्तामणी पौडेलको अध्यक्षता सम्पन्न भएको समुद्घाटन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, वडा नं. ३ का वडा अध्यक्ष विष्णु बहादुर खत्री, वडा नं. ४ का कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, स्थानीय बुद्धिजिवी तथा समाजसेवीहरू र गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।



कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले हालसम्म शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि, पर्यटन, श्रम तथा रोजगार, लगायतका अन्य क्षेत्रहरूमा गरिएका मुख्य मुख्य उपलब्धीहरू बारे चर्चा गर्नुभएको थियो । उहाँले भन्नुभयो, “जनप्रतिनिधि केही समयका लागि हुन् । व्यवस्थित संरचनाबाट गुणस्तरीय सेवा दिएर जनतालाई सहज बनाउने योजनाअनुरुप सबै वडा कार्यालय बनाउने नीति अनुसार पाँच वटा वडा कार्यालय भवन सम्पन्न भएका छ्न् । आगामी वर्ष वडा नं. २ को भवनसमेत सम्पन्न गरी ६ वटै वडा कार्यालय भवन सम्पन्न गरिनेछ।”

कुनै पनि विकास निर्माणको सवालमा गाउँपालिका एक्लैले मात्र सम्भव नभएकोले जनताको पूर्ण सहभागिता जरुरी भएको गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलले बताउनुभयो ।

गाउँपालिकाको आर्थिक वर्ष २०७७।७८ को रु ९८ लाख लागतमा दुई तले वडा कार्यालय भवन निर्माण गरिएको प्रमूख प्रशासकीय अधिकृत युवराज अधिकारीले जानकारी दिनुभयो । भुई तल्लामा कार्यालय रहने वडा कार्यालय भवनको पहिलो तल्लामा १५० जना क्षमता भएको सभाहल निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । वडा नं. ४ का वडा अध्यक्ष चिन्तामणी पौडेलले वडा कार्यालयबाट प्रवाह हुने सेवा अब थप प्रभावकारी हुने बताउँदै भवन निर्माणमा सहयोग, सहकार्य तथा योगदान गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्नुभएको थियो ।