साेह्र श्राद्धमा के गर्ने के नगर्ने?
आश्विन ०६, यामनाथ रेग्मी
प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ । आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ । पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ ।पितृपक्षमा श्राद्ध आफ्नै घरमा गर्नुपर्छ, अर्काको घरमा गर्न निषेध छ । श्राद्धमा तीन वस्तु पवित्र मानिन्छन्:- छोरीको छोरा (नाति), दिनको आठौँ भाग र कालो तिल । श्राद्धमा तीन प्रशंसनीय कुरा छन् :- बाहिरी र भित्री शुद्धता, क्रोध नगर्ने र हतार नगर्ने । श्राद्धकालमा गीता, भागवत, पितृसूक्त, पितृसंहिता, रुद्रसूक्त, ऐन्द्रसूक्त आदि पाठ गर्नु बुद्धि, मन र कर्म तीनै कुराको शुद्धिका लागि फलप्रद छ । श्राद्धमा प्रयुक्त पवित्र मन्त्र यी हुन्।
ॐ क्रीं क्लीं ऐं सर्वपितृभ्यो स्वात्म सिद्धये ॐ फट् । ॐ सर्व पितृ प्रं प्रसन्नो भव ॐ । ॐ पितृभ्यः स्वधायिभ्यः स्वधानमः पितामहेभ्य स्वधायिभ्यः स्वधा नमः । प्रपितामहेभ्य स्वधायिभ्य स्वधा नमः अक्षन्न पितरो मीमदन्त पितरोतीतृपन्त पितरः पितरः शुन्दध्वम् । ॐ पितृभ्यो नमः पितराय नमः ।।
श्राद्धमा गर्न नहुने काम पद्म पुराण तथा मनुस्मृतिका अनुसार श्राद्ध देखाउनका लागि गर्ने होइन, गुप्त रूपमा गर्नुपर्छ । धनी छ भने पनि श्राद्धमा धेरै खर्च र देखावटी नगर्नु अनि भोजनको माध्यमबाट मित्रता र सामाजिक तथा व्यापारिक सम्बन्ध स्थापित नगर्नु । श्राद्धको दिन घरमा दही नमथ्नु । श्राद्धकै दिन कपाल नकाट्नु । अघिल्लो दिन मुण्डन नगर्नु । महाभारतका अनुसार भन्टा, गाजर, मुसुरोको दाल, रहर, लौका, हिङ, प्याज, लसुन, बीरे नून, जामुन, सुपारी, सर्स्यौं र चनाको प्रयोग निषिद्ध छ । पितृपक्षमा कुनै पनि मांगलिक तथा शुभ काम गर्न वर्जित छ । यतिखेर कुँवा निर्माण, देव प्रतिष्ठा वा कुनै प्रयोजनका लागि व्रत, उत्सव, उद्यापन र वधू प्रवेश लगायतका कार्य गर्नु हुँदैन । घरमा रंग लगाउन, नयाँ कपडा किन्न, घर, विवाह र विवाहको कुरा झिक्न वर्जित छ । भूमि पूजन, इनार पूजा, संन्यास ग्रहण, व्यापारको श्रीगणेश आदि श्राद्धपक्षमा गर्नु हुँदैन ।
कसले कुन दिन श्राद्ध गर्ने ? पहिलेपहिले सोह्रश्राद्धका सोह्रै दिन श्राद्ध गर्ने प्रचलन थियो । तर अहिले सोह्रश्राद्धको कुनै एउटा दिन श्राद्ध गर्ने र बाँकी दिनहरूमा अन्य श्राद्धमा एकछाकीका दिन बारे सरह चोखोनीतो गरेर बस्ने गरिन्छ । सोह्रश्राद्ध व्यक्ति विशेषको श्राद्ध होइन, यो सबै मृतपितृहरूको साझा श्राद्ध हो । त्यसैले यसलाई एेच्छिक रूपमा जुन तिथिका दिन सहज पर्छ, त्यसै दिन श्राद्ध गर्न सकिने श्राद्ध भन्दा अत्युक्ति हुँदैन । तर सामान्यतया व्यक्तिले स्वत्व खोज्ने प्रवृत्ति भएकाले आफ्ना मृतपितृको तिथि समाती श्राद्ध गर्ने परिपाटी प्रचलनमा छ । तर स्वेच्छाले तिथि रोज्नुको अर्थ यस पटक एउटा र अर्को पटक अर्को तिथि रोज्नु हुँदैन । सुरुमा जुन तिथि समात्यो जुठो, सूतक वा छोइछिटोले बाधा नपारे त्यही तिथिमा वर्षैपिच्छे श्राद्ध गर्नुपर्छ । आमरूपमा नेपाली परिवेशमा सोह्रश्राद्ध गर्दा पिता (बाबु), पितामह (बाजे) वा प्रपितामह (बराजु) मध्ये कुनै एक जनाको तिथि समाती वर्षेनी उक्त दिन श्राद्ध गर्नु राम्रो हुन्छ । तर जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाहा हुँदैन, तिनीहरूले पनि यस पक्षको पञ्चमी, अष्टमी, द्वादशी वा अमावस्या तिथिका दिन श्राद्ध गर्ने चलन छ । पितृपक्ष सूर्य दक्षिणायन भएको वेलामा पर्दछ । शास्त्रबमोजिम सूर्यले यस समयमा सन्ततिले श्राद्ध गरी तृप्त भएका पितृहरूको आत्मालाई मुक्तिको मार्ग प्रशस्त गर्ने गर्दछन् । भनिन्छ, त्यसैले पनि पितृहरू आफू दिवङ्गत भएको तिथिका दिन आफ्ना सन्तति (छोरा, नाति, पनाति) हरूबाट आफ्नो उद्धारको आकाङ्क्षा राखी पिण्ड र तर्पणको आशा गर्दछन् । त्यसैले प्रत्येक सन्ततिले आफ्ना दिवङ्गत भएका मृत पितृहरूलाई उद्देश्य गरी श्राद्धादि कर्म गर्ने गर्दछन् ।
(कुनै जिज्ञासा र सेवाको लागि सम्पर्क ९८४६७५८८२५)