अन्तत: हुने भयो निर्वाचन: भीरकोट नगर सभापतिमा कसले मार्ला त बाजी ?

भदौ २५, २०७८


नेपाली काङ्ग्रेस भीरकोट नगर सभापतिको दौडमा रहेका दिपेन्द्र के.सी. र याम प्रसाद अधिकारी (लक्ष्मण) बिच चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ। सकेसम्म सहमति गरी पार्टीलाई एक ढिक्का बनाएर लैजाने अभिप्रायले भदौ २४ गते दुबै पक्षका प्रत्याशी र नगरका जिम्मेवार सदस्यहरू बिच दिनभर छलफल भएको थियो।तर सहमति जुट्न नसकेपछि दुबै पक्षले चुनावी तयारीलाई तिव्रता दिएका छ्न्।



नगर सभापतिमा उम्मेदवारी दिएका दिपेन्द्र के.सी. भीरकोट नगरपालिका वडा नं.१ का वडा अध्यक्ष एवं भीरकोट नगरपालिकाका  प्रवक्ता समेत हुन् ।तेह्रौ महाधिवेशनमा  नगर सभापतिका  उपविजेता बनेका के.सी यो महाधिवेशनमा नगर सभापतिको दौडमा विजेता हुन कम्मर कसेर लागि परेका छन्।नेपालमा बि.ए सम्मको अध्ययन गरेका के.सी वि.सं. २०४९ साल देखि नै राजनीतिमा सक्रिय छ्न्।बेलायतबाट ट्राभल एण्ड टुरिजममा डिप्लोमा गरेका उनी बेलायतको प्रजातान्त्रिक प्रणाली र विकासबाट प्रभावित भै देश विकासको दृढ संकल्प सहित नेपाली काङ्ग्रेसको सक्रिय राजनीतिमा लागेको बताउँछ्न्। वि.सं. २०६२ सालमा कृयाशील सदस्यता लिएका के.सी.ले राजनीतिलाई नै आफ्नो जीवनको मूल मर्म ठानेर अगाडि बढेको हुँदा अन्य संघ संस्था वा व्यवसायिक जिम्मेवारीमा नबसी  राजनीतिलाई नै समाजमा  प्रतिष्ठित बनाउन लागि परेका छ्न्। नगर प्रवक्ताको जिम्मेवारी सम्हाल्दै गर्दा भीरकोट नगरका समस्या,चुनौती र सम्भावनाको बारेमा राम्रो सँग बुझेका उनी जनप्रतिनिधिहरूले राजनीति मार्फत नै जनताको सेवा गर्नुपर्ने बताउँछन।विकासका लागि राजनीति गर्नुपर्दछ भन्ने सोच राख्ने उनले शिक्षित युवाहरूलाई नेपाली काङ्ग्रेस भीरकोटको राजनीतिमा आकर्षित गराई भीरकोटलाई नेपाली काङ्ग्रेसको बलियो किल्लाका रूपमा स्याङ्जा जिल्लामा परिचित गराउनको लागि नगर सभापतिमा उम्मेदवारी दिएका हुन्।

वडा अध्यक्षको जिम्मेवारी समाल्दै गर्दा उनले बयरघारी क्षेत्र भित्रको करिब १ कि.मी सडक कालोपत्रे ,ऎतिहासिक भीरकोट दरबार सम्म पुग्ने करिब १.५ कि. पहुँच मार्गको पि.सि.सि.,दलित, गरिबहरूको घर बास निर्माण, आरन संरक्षण तथा आधुनिकिकरण लगायतका धेरै कामहरू गरेका छ्न्।

पर्यटन विकास र आँधिखोलाको सदुपयोग गरी भीरकोटलाई समृद्ध बनाउन उनले भीरकोटका  सडकहरूको प्राथमिकिकरण र  स्तरोन्नति गरि बाह्रै महिना चल्ने बनाउने , आँधिखोलाको दिगो र व्यवस्थित तटबन्धन गर्ने,भीरकोटलाई प्याराग्लाइडिङ्को एभियसन जोनको केन्द्र बनाउने,होम स्टेको प्रवर्द्धन र विकास गर्ने, मन्दिर र मस्जिदको विकास गर्ने योजना अगाडि सारेका छ्न्।

विकासका लागि राजनीति गर्नुपर्दछ भन्ने सोच राख्ने उनले भीरकोट काङ्ग्रेसको सुदृढीकरण गर्नका लागि सम्पूर्ण भातृ संगठनहरूलाई जनकल्याण र समाजको चेनतास्तर उकास्न प्रयोग गर्ने योजनामा छ्न्।भीरकोटका सम्पूर्ण संघ संस्था र व्यवसायीहरूलाई सामाजिक उत्तरदायित्व अन्तर्गत समाजकल्याणका काम गर्न प्रेरित गर्ने महत्वाकांक्षी योजना बोकेका उनले नगरमा व्यवस्थित र आधुनिक पार्टी कार्यालय स्थापना गर्ने, योगदानका आधारमा अग्रजहरूको सम्मान गर्ने, सबै वडामा पार्टी कार्यालय स्थापना गरी कार्यालयमै राजनीतिक कार्यक्रम गर्ने र राजनीतिक कार्यक्रमका लागि विद्यालय प्रयोग नगर्ने,निर्वाचित जनप्रतिनिधी र पार्टी पदाधिकारीबिच समन्वय र सहकार्य गरि पार्टी सुदृढीकरण गर्ने,पार्टीमा आस्थावान सबैलाई विना भेदभाव समान व्यवहार गर्ने एवं बिरामी भै आर्थिक कारणले उपचारको समस्या भएमा पार्टीको तर्फबाट आर्थिक सहयोग गर्ने,विधिको शासन र सुशासनलाई पहिलो प्राथमिकता दिने लगायतका योजना तथा कार्यक्रम अगाडि सार्दै  क्षेत्रीय प्रतिनिधिहरूलाई आफूलाई अमूल्य भोट दिन आग्रह गरेका छ्न्।

नगर सभापतिका अर्का प्रत्याशी याम प्रसाद अधिकारी (लक्ष्मण) वडा नं. ५ का वडा अध्यक्ष हुन्। वि.सं. २०४८ सालमा ९ बर्षको उमेर देखि नै नेपाली काङ्ग्रेस  प्रती आस्था राखेको दाबी गर्ने अधिकारी फर्निचर व्यवसायी समेत हुन्। +२ सम्मको औपचारिक शिक्षा हांसिल गरेका अधिकारी २०५९ सालमा नेपाल विद्यार्थी संघको इकाइ सदस्य बनेका थिए भने उनले २०६० सालमा पार्टीको कृयाशील सदस्यता लिएका थिए। नेपाली काङ्ग्रेस जिताउ अभियान र सबै प्रजातान्त्रिक आन्दोलनमा आफ्नो सक्रिय सहभागीता रहेको दाबी गर्ने अधिकारी तेह्रौ महाधिवेशनमा भने क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए।वालिङमा फर्निचर व्यवसाय गर्ने क्रममा वालिङ् उद्योग वाणिज्य संघ र वालिङ जेसिजमा सक्रिय अधिकारी वालिङ जेसिज वर्ष २०१८ को अध्यक्ष र क्षेत्रीय निर्देशक समेत बनेका थिए।उनी जिल्ला फर्निचर व्यवसायी संघका संस्थापक अध्यक्ष र फर्निचर व्यवसायी महासंघ नेपालका केन्द्रिय सदस्य समेत बनेका थिए।

यसरी विभिन्न सामाजिक र व्यवसायिक संघसंस्थामा जिम्मेवार पदमा रहेर कार्य गरेका अधिकारी युवा पङ्तिमाझ एकदमै लोकप्रिय छ्न्। कोभिड-१९ महामारीको बेलामा भीरकोट जेसिजसँग सहकार्य गर्दै विपद् मा हामी अभियानमा आफ्नै सवारी साधन प्रयोग गरी ५०० भन्दा कोभिड संक्रमित र अन्य बिरामीहरूलाई पनि नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गरेर लोकप्रिय बनेका अधिकारी आफ्नो वडाको विकासमा पनि सक्रिय भएर लागि परेका छ्न्। विपद् र अप्ठ्यारोमा जनप्रतिनिधिहरू जनता माझ रहनुपर्छ र निस्वार्थ भावले सेवा गर्नुपर्छ भन्ने जनमैत्री सोच भएका उनी पार्टी संगठन विस्तारमा पनि सक्रिय देखिन्छन्।

नेपाली काङ्ग्रेस स्याङ्जाका आदर्श राजनीतिज्ञ स्व.कमल पङेनीको आर्दश र उदारतालाई पछ्याएको दाबी गर्ने अधिकारीले नगर पार्टी कार्यालय भवन निर्माण, कमल पंगेनी स्मृति पार्क निर्माण ,भीरकोट कांग्रेस एकेडेमी गठन,पार्टी सुदृढीकरण र भीरकोटका अग्रज राजनीतिज्ञको सम्मान सम्मका कार्यक्रमहरू अगाडि सारेर नतिजा आफ्नो पक्षमा पार्ने कोशिसमा छ्न्।

के.सी र अधिकारी दुबै पक्षलाई चुनाब राम्रैसँग लागेको छ। के.सीलाई नगर प्रमुख छायाराम खनालको शुभेच्छा,साथ र सहयोग रहेको र अधिकारीलाई वर्तमान नगर सभापती तोयनाथ अर्यालको शुभेच्छा, साथ र सहयोग रहेको जानकारहरू बताउँछ्न्। यसो हुँदा अधिकारी र के.सी. बिच कडा चुनावी प्रतिस्पर्धा हुने निश्चित छ। चुनावी नतिजा नआएसम्म कसले बाजी मार्ला भनेर आंकलन गर्न समेत गाह्रो छ।