सुन्तला जोन स्याङ्जाद्वारा ५० प्रतिशत अनुदानमा भीरकोटका सुन्तला कृषकलाई आधुनिक हाते ट्याक्टर प्रदान

असोज २७, २०७७


२०७७ बैशाख २४, भीरकोट

प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपर जोन स्याङ्जाले भीरकोटमा रहेका सुन्तला उत्पादन गर्ने कृषक समूहलाई ५० प्रतिशत अनुदानमा आधुनिक हाते ट्याक्टर प्रदान गरेको छ ।

हाते ट्याक्टर प्रदान गर्दै नगर प्रमुख छायाराम खनालले साधन पाएर घर लगेर सही सदुपयोग नगर्ने हो भने ट्याक्टर लानुको तुक नहुने भन्दै राज्यले गरेको लगानि खेर नफाली उत्पादनमा वृद्धि ल्याई बढी भन्दा बढी मात्रामा आर्थिक उपार्जन तर्फ लाग्नु पर्ने भन्दै खनालले कोरोना भाइरसले हाम्रो आनीबानी र व्यवहारमा परिवर्तन ल्याएको भान भएको भन्दै अव भीरकोटका बाँझा खेतवारीको लागत तयार पार्ने काम भैरहेको छ केही दिनमा नगरपालिकाले महत्वपूर्ण निर्णय गरी हरेक बाँझा खेतवारीलाई जुन माटोमा जे बढी उत्पादन हुन्छ त्यही खेती गर्ने रणनीति तयार गरी लागु गर्ने योजना रहेकाले हाते ट्याक्टर बहुउपयोगी हुने प्रमुख खनालले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपर जोन अन्तर्गत भीरकोट नगरपालिकाका ५ वटा वडा पर्दछन् । जसमध्ये हाते ट्याक्टर पाउनेमा वडा नं. ७ मा ७ सुन्तला कृषक समूहलाई ७ ओटा, वडा नं. ८ मा ३ समूहलाई १ ओटा, वडा नं. १ मा ३ समूहलाई ३ ओटा, वडा नं. २ मा २ समूहलाई २ ओटा र वडा नं. ३ को १ समूहलाई १ ओटा गरी १४ ओटा आधुनिक ७ हर्स पावरको १ ओटालाई ३३ हजार पर्ने हाते ट्याक्टर ५० प्रतिशत अनुदानमा कृषकलाई प्रदान गरिएको सुन्तला जोन स्याङ्जाका सह सचिव तारा अर्यालले बताए ।  शिव शिखर एग्रो प्रा.लि.बाट खरिद गरी ल्याइएको आधुनिक हाते ट्याक्टर सुन्तला बगैंचालाई व्यवस्थापन गर्नको लागि साह्रै सहज र हल्का रहेको भन्दै अर्यालले स्याङ्जा जिल्ला भरी सुन्तला सुपर जोनमा परेका पालिकाका वडाहरुमा ९५ वटा हाते ट्याक्टर वितरण गर्ने योजना रहेको बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपर जोन स्याङ्जाका अध्यक्ष वोदराज अर्याललको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सुन्तला सुपर जोनका सह सचिव तारा प्रसाद अर्यालले गर्नु भएको थियो ।  उक्त कार्यक्रममा वडा अध्यक्ष, प्राविधिक र कृषकहरुको सहभागिता रहेको थियो ।