व्यवसायीहरूको लागि आँधिखोला मङ्सिर ३ देखि खुल्ने
कार्तिक २६, भीरकोट,
आगामी मङ्सिर ३ गते देखि भीरकोट नगरपालिकामा ट्याक्टर व्यवसायीहरूको लागि आँधिखोला खुल्ला हुने भएको छ । भीरकोट नगर कार्यपालिकाको ८१ औं बैठकको निर्णयानुसार भीरकोट नगरपालिका क्षेत्र भित्रको आँधिखोलामा ढुंगा, गिट्टी, बालुवा संकलन र बिक्री वितरण २२ दिनको लागि खुला गरिएको छ । भीरकोट नगरपालिका भित्रका ट्याक्टर व्यवसायीहरुले मात्रै नगरपालिकाले तोकेका मापदण्ड पालना गरी ढुंगा गिट्टी बालुवा संकलन र ढुवानी गर्न पाउने नगरपालिकाले जनाएको छ।
नदीजन्य निर्माण सामाग्री उठाउनु पूर्व ट्याकटर व्यवसायीहरूले २२ दिनको अवधिका लागि रू ५०,०००।- भीरकोट नगरपालिकाको राजश्व खातामा जम्मा गरी सोको भौचर नगरपालिकाको कार्यालयमा पेश गर्नुपर्ने छ । साथै तोकिएको अवधीभन्दा कम अवधीको (दिन) उत्खनन् तथा ढुवानी गरेको भनी रकम फिर्ता नहुने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद कोइरालाले बताउनुभयो ।
तोकिएको रकम जम्मा गरेका ट्याक्टर व्यवसायीहरुले मात्र आगामी मङ्सिर ३ गतेबाट २४ गते सम्म भीरकोट नगरपालिका क्षेत्र भित्र पर्ने आँधिखोलाको ल्याण्ड फिल्ड साइड देखि ओढारे सम्म र गेजावासको झलुङ्गे पुल देखि पुतलीबजार नगरपालिकाको सीमाना सम्म ढुंगा, गिट्टी, बालुवा उत्खनन् र ढुवानी गर्ने अनुमती प्राप्त गर्नेछ्न्।
नगरपालिकाले निर्माण सामाग्री उठाउन मेसिनरी औजार (लोडर, डोजर) को प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। एउटा ट्याक्टरमा चालक सहित ३ जना ज्यामीले मात्र लोड गर्न पाउने छ्न्। व्यावसायीहरूले बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म मात्र निर्माण सामाग्री उठाउन पाउने छन्। यसरी उठाएको निर्माण सामाग्री आँधिखोला किनार देखि ३०० मिटर टाढा भण्डारण गर्नु पर्नेछ ।साथै आँधिखोलामा बगेको पानी भित्र रहेका निर्माण सामाग्रीहरु उठाउन पाइने छैन । आँधिखोलामा निर्माण भएका भौतिक संरचनाहरु (पुल,झोलुङ्गे पुल, तटबन्धन) मा असर पर्ने गरी निर्माण सामाग्री उठाउन नपाइने नगरपालिकाले प्रष्ट पारेको छ।
तोकिए बमोजिमको राजस्व दाखिला भए पछि मात्र नगर प्रशासनले सामाग्री निकासी अनुमती पत्र (स्टिकर) उपलब्ध गराउने छ। उक्त स्टिकर लगाएका ढुवानी साधनले मात्र निर्माण सामाग्री उठाउन र ढुवानी गर्न पाउनेछन । तोकिए बमोजिमको शुल्क नबुझाउने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने वा यस सम्झौतामा उल्लेख भएको सर्तहरुको पालना नगर्ने व्यवसायीहरुलाई कानून बमोजिम दण्ड सजाय गरीने समेत नगरपालिकाले जनाएको छ।
निमित्त प्रशासकीय अधिकृत कोइरालाका अनुसार हाललाई भीरकोट नगरपालिका क्षेत्र भित्रका ट्याक्टर व्यवसायीहरुले मात्र निर्माण सामाग्री उठाउन , भण्डारण र ढुवानी गर्न पाउने छन्।