भीरकोटको पहिलो अनलाईन न्युज पोर्टल bheerkotkhabar.com संचालनमा।

असोज ३०, २०७७


चुत्र महत

२०७७ कार्तिक, भीरकोट

बढ्दो जनघनत्वसंगै संचार क्षेत्र प्रतिको रुचीलाई मध्यनजर गर्दै भीरकोटमा पहिलो पटक भीरकोट कालिका मिडिया हाउस प्रा.लि.ले सुचना र निस्पक्ष खबरको संवाहक bheerkotkhabar.com (भीरकोट खबर डट कम) नामक अनलाईन न्युज पोर्टल आजबाट संचालनमा ल्याएको छ ।

भीरकोटको पहिलो अनलाईन न्युज पोर्टल bheerkotkhabar.com को भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले औपचारीक रुपमा शुभारम्भ गर्नुभएको हो । भीरकोटमा पहिलो पटक डिजिटल मिडियाको रुपमा अनलाईन न्युज पोर्टल विधिवत रुपमा संचालनमा आएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै प्रमुख खनालले भीरकोट नगरपालिकाभित्र हालसम्म कुनै पनि आधिकारिक डिजिटल मिडियाका माध्यमहरु संचालनमा नहुनाले भीरकोटको विकासले संचारक्षेत्रसम्म पुग्ने अवसरबाट बञ्चित रहनु पर्ने अवस्थाबाट मुक्त भएको बताउनुभयो । नगर प्रमुख खनालले नगरपालिकाको मुखपत्रको रुपमा bheerkotkhabar.com लाई स्थान दिने भन्दै मिडिया बिधि र सीमाभित्र बसी तथ्यपरक र विश्वसनीय रुपमा काम गर्न आग्रह गर्नुभयो ।

साथै खनालले bheerkotkhabar.com (भीरकोट खबर डट कम) परिवार प्रति सफलताको शुभकामना सहित बधाई व्यक्त गर्दै आगामी दिनमा भीरकोट नगरपालिका भीरकोट कालिका मिडिया हाउस प्रा.लि.संग सहकार्य र समन्वयन गर्न तयार रहेको बताउनुभयो ।

शुभारम्भ कार्यक्रममा बोल्दै भीरकोट नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष याम प्रसाद अधिकारीले भीरकोटका युवाहरुको सक्रियतामा संचालनमा आएको bheerkotkhabar.com (भीरकोट खबर डट कम) आगामी दिनमा सबैको लोकप्रिय अनलाइन न्युज पोर्टलको रुपमा स्थापित भई समाजमा भए गरेका यथार्थ सत्य तथ्य घट्नाहरुको आफ्नो स्वतन्त्र विवेक प्रयोग गरी सूचना र समाचारहरु संम्प्रेषण गर्न आग्रह गर्दै मिडिया र मिडियाकर्मी समाजका ऐना भएकाले कुनै पनि दलिए राजनीतिको पक्षमा नभई निस्पक्ष रुपमा कलम चलाउनु पर्ने बताउनुभयो ।



उक्त कार्यक्रमको उत्तरार्धमा बोल्दै भीरकोट कालिका मिडिया हाउस प्रा.लि.का अध्यक्ष/संचालक चुत्र बहादुर महतले पाठकहरुको माया, प्रेम र सद्भावले संचारक्षेत्रलाई प्रभावकारी ढंगले सबै वर्गको पहुँचमा पुर्‍याउने हेतुले संचारप्रेमीहरुमाझ सूचना र निस्पक्ष खबरको संवाहकको रुपमा bheerkotkhabar.com (भीरकोट खबर डट कम)लाई हेरी सल्लाह सुझाव र प्रतिक्रिया दिनुहुनेछ भन्ने अपेक्षा व्यक्त गर्नुभयो ।