भीरकोटमा दोस्रो चरणको राहत वितरण सम्पन्न

असोज २७, २०७७


लक डाउनबाट प्रभावितलाई राहत सहित अशक्त लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता लिएर जनताको घरघरमा प्रमुख खनालः



२०७७ वैशाख २१, भीरकोट



विश्वभरी महामारीको रुपमा अदृश्य रुप लिई घुमिरहेको कोरोना भाइरस कोभिड १९ ले नेपालमा प्रवेश गरी अहिले आफ्नो संख्यामा वृद्धि ल्याउनको लागि जोडबल गरीरहेको अवस्थामा त्यसको संक्रमणबाट बच्न नेपाल लक डाउन गरिएको छ ।

यसबाट प्रत्यक्ष रुपमा प्रभावित अति विपन्न, गरीव,  असहाय र ज्यालादारी गरी साँझ बिहानको छाक टार्दै आएका भीरकोटबासी जनतालाई एक महिनासम्म खाना खान पुग्ने खाद्यान्न सामाग्री सहित भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनाल टोल संयोजकहरुको साथ अशक्त, असहाय र हिडडुल गर्न नस्कने लाभग्राहीहरुलाई घर घरमा पुगी सामाजिक सुरक्षा भत्ता प्रदान गर्दैमा दिनचर्या बिताई रहनु भएको छ ।

पहिलो चरणमा ८४० जना र दोस्रो चरणको राहत वितरणमा भीरकोट नगरपालिकामा बसोबास गर्ने लक डाउनबाट प्रभावित ९ वटा वाडका १४ सय ३९ घरपरिवारलाई राहत सामग्री वितरण गरी सकिएको नगर प्रवत्ता दिपेन्द्र के.सी.ले बताउनुभयो । २ जना घर परिवार भएको घरमा १० किलो चामल,  २ किलो दाल,  २ किलो नुन र १ लिटर तेल त्यसैगरी  २ जनाको परिवार देखि ५ जनासम्मको परिवारलाई २० किलो चामल, २ किलो दाल, २ किलो नुन र १ लिटर तेल त्यसैगरी ५ जनाको परिवारभन्दा माथीकोलाई २५ किलो चामल, २ केजी दाल, २ किलो नुन र १ लिटर तेल राहत स्वरुप एक महिनासम्म खान पुग्ने गरी वितरण गरिएको बताउँदै प्रमुख खनालले भीरकोट नगरपालिकाका ९ वटा वाडमा जेष्ठ नागरीक १७२२ जना, एकल महिला ६० वर्ष माथिका ४४३ जना, एकल महिला ६० वर्ष मुनिका ६७९ जना जेष्ठ नागरीक दलित २६५ जना पूर्ण अपाङ्ग ७६ जना, आंसिक अपाङ्ग १०७ गरी ३२५४ जना लाभग्राहीहरुलाई दोस्रो चौमासिकको २ करोड १९ लाख ३३ हजार २ सय ८० रुपैया सामाजिक सुरक्षा भत्ता वितरण गरी सकिएको भन्दै प्रमुख खनालले अशक्त, असहाय र हिडडुल गर्न नस्कने वृद्ध बुवा आमालाई उनीहरुकै घर दैलोमा गएर सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने कार्य पनि राहत वितरण संगसंगै सम्पन्न भएको बताउनुभयो ।