भीरकोटका मौरीपालक कृषकलाई ४ दिने आधारभूत तालिम

असोज १०, २०७७


चुत्र महत

२०७६ असार ५, भीरकोट

भीरकोट मौरी पकेट संचालन समिति वडा नं. ५ र ३ द्वारा आयोजित मौरी पालक कृषकहरुलाई भाग्योदय मा.वि. उजेलीडाँडामा ४ दिने मौरी पालन आधारभूत तालिम शुरु भएको छ ।

४ दिने मौरी पालन आधारभूत तालिमको उद्घाटन गर्दै नगर प्रमुख छायाराम खनालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत भीरकोट नगरपालिकाको ३ र ५ नं. वडामा संचालन हुन लागेको मौरी पकेट क्षेत्र कार्यक्रमले कृषकहरुलाई कृषि गर्नमा प्रेरणा मिल्ने र आत्मबल बढ्ने भन्दै प्रमुख खनालले मौरीको मह पूर्ण आहारको रुपमा मानिने भएकाले स्वस्थ रहनका लागि दैनिक एक चम्चा मह सेवन गर्नु अमृत सरह हुने बताउनुभयो ।

मौरीको मह धार्मिक दृष्टकोणले पनि महत्वपूर्ण मानिने र हरेक पूजाआजामा प्रयोगमा आउने भएकाले पनि बजारमा यसको बढ्दो माग भएकाले अव भीरकोटलाई मौरी र महको हवको रुपमा विकास गर्ने उद्धेश्य रहेको नगर उप प्रमुख सिमा के.सी. कर्माचार्यले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा नगर प्रवत्ता एवं भीरकोट नगरपालिकाका कृषि संयोजक दिपेन्द्र के.सी. ३, ५ र ६ नं. वडाका अध्यक्षहरु क्रमशः बाबुराम श्रेष्ठ, याम प्रसाद अधिकारी र लक्ष्मण खत्री क्षेत्री, भाग्योदय मा.वि.का सहायक प्र.अ. रेशम खनाल लगायतले ४ दिनसम्म सिकेका सीपहरुलाई हुबहु व्यवहारमा उतारी व्यवसायीक रुपमा मह र मौरी उत्पादन वृद्धि तर्फ लाग्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।



श्री सिर्जना कृषि सहकारी संस्थाका अध्यक्ष श्याम प्रसाद खनालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको संचालन मौरी पकेट क्षेत्र संचालन समितिका अध्यक्ष नन्दलाल खनालले र स्वागत बोर्ड सदस्य विष्णुमाया काफ्लेले गर्नुभएको थियो । ४ दिनसम्म संचालन हुने मौरी पालन आधारभूत तालिममा ६३ जना मौरी पालकहरुको सहभागिता रहने छ भने तालिमको सहजीकरण प्रशिक्षक द्वय मौरी पालक कृषक महासंघ केन्द्रिय उपाध्यक्ष श्याम प्रसाद अर्याल र मौरी पकेट क्षेत्र संचालन समितिका अध्यक्ष नन्दु खनालले गर्नु हुनेछ ।