भीरकोटमा बृहत् योग विज्ञान शिविर सुरू

कार्तिक ०९, २०८१


स्याङ्जाको भीरकोट नगरपालिकामा बृहत् योग विज्ञान  शिविर सुरू भएको छ। नगरपालिकाको आयोजनामा  कार्तिक ९ गतेबाट  सुरू भएको  शिविर भीरकोट खेल मैदानमा  १४ गतेसम्म संचालन हुने नगर प्रवक्ता दिपेन्द्र के.सी. ले जानकारी दिनुभयो।  बिहान ५ बजे देखि ७ बजेसम्म सञ्चालन हुने यस शिविरमा  बालबालिका, युवा, तथा जेष्ठ नागरिक सबैले  सहभागिता जनाएका छन्।

योग शिविर संचालनका लागि निवर्तमान नगर प्रमुख छायाराम खनालको संयोजकत्वमा ३९ सदस्यीय  बृहत् योग शिविर व्यवस्थापन समिती गठन गरिएको छ।  पतञ्जली योगपिठ नेपालको योग प्रशिक्षक  साध्वी देवाकृपाले  सहभागीहरूलाई  प्रशिक्षण   दिने नगर प्रवक्ता के.सी.ले जानकारी दिनुभयो। योग संचालनको ३ देखि ४ लाख रूपैयाँ खर्च हुने  अनुमान गरिएको छ। शारीरिक श्रम कम गर्नेहरूका लागि योग अत्यावश्यक भएको उल्लेख गर्दै योग संचालन समितिका संयोजक छायाराम खनालले नगरवासीलाई शिविरमा सहभागिता जनाउन अनुरोध गर्नुभएको छ।

नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले योग विभिन्न  रोगबाट मुक्ती पाउने उत्तम उपाय भएकाले यसलाई दैनिक अभ्यास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले  नगरका नागरिकको स्वास्थ्य सुधारका लागि शिविरको आयोजना गरिएको बताउँदै भविष्यमा वडास्तरीय शिविर तथा विद्यालयहरूमा योग शिक्षा लागू गर्ने योजना रहेको जानकारी दिनुभएको छ।

शिविरका संयोजक छायाराम खनालले योगलाई जीवनसँग जोड्न आवश्यक रहेको बताउँदै शिविरमा सिकेका योग अभ्यासहरू परिवारका सदस्य र आफ्न्तहरूलाई सिकाउन अनुरोध गर्नुभयो। स्वस्थ्य समाज निर्माणका लागि योगलाई व्यवहारमा उतार्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उहाँको भनाई छ।

शिविरमा सहभागी हुन इच्छुक नगरवासीका लागि छाङ्छाङ्दी, हेलु, र सुन्दरबजार क्षेत्रबाट यातायातको सुविधा पनि उपलब्ध गराइएको छ। “योग गरौं, स्वस्थ रहौं” भन्ने मूल नाराका साथ आयोजना गरिएको यस शिविरमा नगरका सबै नागरिकलाई सहभागी भई स्वास्थ्य लाभ लिन अनुरोध गरिएको छ।

आयोजकले  करिब १ हजार जना  सहभागी हुने अपेक्षा गरेको भएपनि  राम्रोसँग प्रचारप्रसार र जनसम्पर्क नहुँदा शुक्रबार  प्रशिक्षक, स्वयंसेवक , भीरकोट र वालिङ्का गरी  करिब २ सय जना व्यक्तिहरूको मात्रै सहभागिता रहेको थियो।