भीरकोटमा बृहत् योग शिविर सञ्चालन हुँदै
स्याङ्जाको भीरकोट नगरपालिकामा बृहत् योग शिविर सञ्चालन हुने भएको छ। कार्तिक ९ गतेदेखि १३ गतेसम्म भीरकोट खेल मैदानमा बिहान ५ बजे देखि ७ बजेसम्म सञ्चालन हुने यस शिविरमा बालबालिका, युवा, तथा जेष्ठ नागरिक सबै सहभागी हुन पाउने छन्।
योग शिविर संचालनका लागि निवर्तमान नगर प्रमुख छायाराम खनालको संयोजकत्वमा ३९ सदस्यीय बृहत् योग शिविर व्यवस्थापन समिती गठन गरिएको छ।
पतञ्जली योगपिठ नेपालको संयोजक साध्वी देवादितिले सहभागीहरूलाई प्रशिक्षण दिने नगर प्रवक्ता दिपेन्द्र के.सी.ले जानकारी दिनुभयो। योग शिविर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुनेछ, जसमा अनुमानित ३ देखि ४ लाख रूपैयाँ खर्च हुने छ। शारीरिक श्रम कम गर्नेहरूका लागि योग अत्यावश्यक भएको उल्लेख गर्दै संयोजक छायाराम खनालले नगरवासीलाई शिविरमा सहभागिता जनाउन अनुरोध गर्नुभएको छ।
नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले नगरका नागरिकको स्वास्थ्य सुधारका लागि शिविरको आयोजना गरिएको बताउँदै भविष्यमा वडास्तरीय शिविर तथा विद्यालयहरूमा योग शिक्षा लागू गर्ने योजना रहेको जानकारी दिनुभएको छ। शिविरमा सहभागी हुन इच्छुक नगरवासीका लागि छाङ्छाङ्दी, हेलु, र सुन्दरबजार क्षेत्रबाट यातायातको सुविधा पनि उपलब्ध गराइनेछ।
“योग गरौं, स्वस्थ रहौं” भन्ने मूल नाराका साथ आयोजना गरिएको यस शिविरमा नगरका सबै नागरिकलाई सहभागी भई स्वास्थ्य लाभ लिन अनुरोध गरिएको छ।