वि.पि. पथ पछ्याउँदै भीरकोट काँंग्रेस
नेपाली काँग्रेसको संस्थापक नेता वि.पि. कोइरालाको जन्मजयन्तीको अवसर पारेर नेपाली काँग्रेस भीरकोटले घरबारबिहिन गरिब परिवारलाई सहयोग गरेको छ।
नेपाली काँग्रेस भीरकोट नगर कार्यसमितिले १११ औं वि.पि. जयन्तीको अवसरमा भीरकोट नगरपालिका वडा ६ चिउरेनी निवासी प्रेमबहादुर माझीलाई घर बनाइदिने भएको हो। घरबारविहिन माझी भीरकोटका विभिन्न पार्टी पौवामा सुत्दै आएका थिए। माझीका छोरा राजेन्द्र माझीको केही दिन अघि दुर्घटनामा परी निधन भएको थियो। आफ्नो घर नहुँदा उनीहरू छिमेकीको घरमा बसेर मृत्यु संस्कार गरिरहेका छन्।
नेपाली काँग्रेस भीरकोटका सभापति याम प्रसाद अधिकारीले प्रेम माझीको परिवारका लागि २ कोठे टिनको छाना भएको सामान्य घर बनाइने र सम्पूर्ण खर्च नेपाली काँग्रेस भीरकोट नगर कार्यसमितिले व्यहोर्ने बताउनुभयो। सकेसम्म चाँडो घर निर्माण गरिने बताउँदै उहाँले घर निर्माणमा आर्थिक सहयोग अभियान सुरू भैसकेको जानकारी दिनुभयो। काँग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई घर निर्माणमा आर्थिक सहयोग गर्न उहाँले अनुरोध गर्नुभएको छ।
राजेन्द्रको तेह्रौ दिनको पूण्य तिथि पश्चात् घर निर्माण सुरू गरिने नेपाली काँग्रेस भीरकोटका सचिव तारा अर्यालले स्मार्ट अखबारलाई बताउनुभयो। प्रेम बहादुर माझीको दु: खमा मलम लगाउन भीरकोट काँग्रेसका नेता कार्यकर्ताहरू अत्यावश्यक खाद्यान्न सामाग्री र लत्ताकपडा सहित सोमबार बिहान उहाँको निवास चिउरेनी पुगेका थिए।कार्यक्रममा वर्तमान नगर प्रमुख गोविन्द कुमार कर्माचार्य र निर्वतमान नगर प्रमुख छायाराम खनाल पनि सहभागी हुनुहुन्थ्यो।
सामन्त र हुनेखानेको पार्टी भनेर आलोचित हुने काँग्रेसले वि.पि. को आदर्शलाई पछ्याउँदै वि पि जयन्तीको अवसरमा घरबारविहीन परिवारलाई सहयोग गर्न लागेको हो।