अग्नीपीडित पौडेललाई सहकर्मीको सहयोग

जेठ ३१, २०८०


३१ जेठ २०८०,बुधबार

स्याङ्जाको भीरकोटमा जेठ २६ गते शुक्रबार भएको आगालागीका पीडित झरना फोटोका संचालक राजेश पौडेललाई फोटोग्राफर मञ्च स्याङ्जामा आवद्ध सहकर्मी साथीहरूले आर्थिक सहयोग गरेका छ्न्।

फोटोग्राफर मञ्च स्याङ्जामा आवद्ध सहकर्मीहरूबाट संकलित ४३ हजार ५ सय रूपैयाँ मञ्चका वरिष्ठ उपाध्यक्ष ढाकाराम खनालले बुधबार पौडेललाई हस्तान्तरण गरेका हुन्।फोटोग्राफर मञ्च स्याङ्जाका सचिव बाबुराम रेग्मी लागायतका पदाधिकारी र सदस्यहरूले सहयोग रकम घरमै पुगेर हस्तान्तरण गरेका हुन्।

भीरकोट उद्योग वाणिज्य संघ, भीरकोट जेसिज, बयरघारी बजारका विभिन्न टोलविकास संस्थाको पहलमा संकलित सहयोग रकम १ लाख ७४ हजार ५ सय ९५ रूपैयाँ मंगलबार भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदीश प्रसाद कोइरालाले अग्नीपीडित पौडेललाई मंगलबार हस्तान्तरण गरेका थिए।। यसैगरी उद्योग वाणिज्य संघले निज पौडेललाई संस्थागत रूपमा ५५ हजार ५५ रूपैयाँ आर्थिक सहयोग गरेको थियो। भीरकोट जेसिजका पदाधिकारीहरूले संकलन गरेको २३ हजार २ सय १५ रूपैयाँ संस्थाका अध्यक्ष सुन्दर कोइरालाले पौडेललाई हस्तान्तरण गरेका थिए। बालोदय माध्यमिक विद्यालयले पनि अग्नीपीडित पौडेललाई सहयोग गरेको थियो। विद्यालय परिवारबाट संकलित १० हजार रूपैयाँ विद्यालय संचालक समितिका अध्यक्ष तोयनाथ अर्यालले पौडेललाई प्रदान गरेका थिए।

भीरकोट नगरपालिकाले पनि पौडेललाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। सोमबार बसेको बोर्ड बैठकले पौडेललाई एक लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। निजलाई घरबास पुननिर्माण र व्यवसाय पुन: संचालन गर्न केही राहत होस भनी पालिकाले सहयोग गर्ने निर्णय गरेको र छिट्टै उक्त रकम पौडेललाई प्रदान गरिने नगर प्रवक्ता दिपेन्द्र के.सी. ले जानकारी दिए।

भीरकोट नगरपालिका वडा नं १ को विरेन्द्र मार्गमा अवस्थित झरना फोटो स्टुडियोमा शुक्रबार करिब ९.२० बजेतिर आगालागी भएको थियो।आगालागीमा परी झरना फोटोका संचालक राजेश पौडेलको दुई तले घरमा ठूलो क्षती पुगेको थियो।आगालागीमा परी डि.एस.एल.आर क्यामेरा ५ थान,कम्युटर ४ थान, प्रिन्टर ४ थान,लेमिनेसन मेसिन ३ थान,फोटो फ्रेम, गिफ्ट आइटम, स्टेसनरी सामान , फोटो अम्रेला,र नगद रू ४१ हजार सहित करिब ५१ लाख बराबरको क्षती भएको थियो।