लायन्स क्लबद्वारा शैक्षिक सामाग्री र न्यानो कपडा वितरण

पुष १२, २०८१     नारायणप्रसाद कोइराला


लायन्स क्लब अफ भीरकोटले भीरकोट नगरपालिकामा अध्ययनरत विद्यार्थीहरूलाई  शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेको छ । क्लबले वडा न. ३ को कालिका आधारभूत विद्यालयमा अध्ययनरत  १५ जना र वडा न. ५  को गडी भञ्जाङ आधारभूत विद्यालयमा अध्ययनरत  १० जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेको हो ।   ” विद्यार्थीसँग लायन्स ” कार्यक्रम अन्तर्गत २५ जना विद्यार्थीहरूलाई हाइनेक, जुत्ता , मोजा , झोला , कापी र सिसाकलम वितरण गरिएको लायन्स क्लब अफ भीरकोटका संस्थापक अध्यक्ष याम प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेको क्लबका अध्यक्ष ढाकाराम खनालले जानकारी दिनुभयो । लायन्स क्लब सामाजिक सेवाको भावनाले स्थापित भएको बताउदै अध्यक्ष खनालले  बालबालिकाहरूलाई विद्यालय जान प्रोत्साहित गर्न शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरिएको प्रष्ट पार्नुभयो ।

क्लबका स्थापक अध्यक्ष याम प्रसाद अधिकारीले समाजको विकासका लागि बालबालिकाको शिक्षामा सबैले ध्यान दिनुपर्ने कुरामा जोड दिदै क्लबले आफ्ना सदस्यहरूले  जन्मदिनमा गर्ने खर्च बालबालिकाको हितमा खर्चेको बताउनुभयो  । समाजको सुख र दु :खमा लायन्सले सहयोग गर्दै आएको जानकारी दिदै उहाँले समाजको विकासका लागि हरेक नागरिकले सकारात्मक भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।  सामाजिक संघसंस्थाले समाजको हितमा काम गर्ने भएकाले सकारात्मक योगदान पुर्‍याइरहेका संघसंस्थाहरूलाई स्थानीय, प्रदेश र संघीय सरकारले पनि प्रोत्साहन गर्नुपर्ने अधिकारीले बताउनुभयो ।