सय भन्दा बढी विद्यार्थीहरूलाई पोशाक वितरण

पुष ०६, २०८१     स्मार्ट संवाददाता


स्याङ्जा सहयोग समाज भीरकोट नगर इकाइ कतारले विद्यार्थीहरूलाई विद्यालय पोशाक  वितरण गरेको छ। भीरकोट नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत १ सय ८ जना विद्यार्थीहरूलाई सर्ट,पाइन्ट, जुत्ता  वितरण गरिएको हो।

स्याङ्जा सहयोग समाज भीरकोट नगर इकाइ कतारका अध्यक्ष लिल बहादुर रोकाले भीरकोटको शैक्षिक सुधारमा सहयोग पूगोस भन्ने हेतुले विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको बताउनुभयो।  नगरपालिकासँग समन्वय गरी विद्यालयको सिफारिसमा गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको उहाँले जानकारी दिनुभयो।

नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले रोजगारीका लागि विदेशमा बस्दा समेत  स्याङ्जा सहयोग समाजका सदस्यहरू मातृभूमिको सेवामा समर्पित भएकोमा खुशी व्यक्त गर्नुभयो। विगतमा कोभिडको समयमा समेत स्वास्थ्य सामाग्री प्रदान गरेर सहयोग गरेको स्मरण गर्दै उहाँले पालिकाको विकासका लागि देश विदेशमा बस्ने सबैले आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताउनुभयो। शिक्षाको क्षेत्रमा सुधार गर्न नगरपालिका लागि परेको बताउँदै उहाँले शैक्षिक नतिजा सुधार गर्न शिक्षक, विद्यार्थी र समुदाय सबैले जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस भीरकोटका सभापति याम प्रसाद अधिकारीले नगरपालिकाले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई सीप र भाषा सिकाएर मात्रै पठाउनुपर्ने धारणा राख्नुभयो। सकेसम्म स्थानीय स्तरमै रोजगारी सृजना गर्न नगरपालिकाले ध्यान दिनुपर्ने उहाँको भनाई छ।

कार्यक्रममा नगर उपप्रमुख भगवती रेग्मी अर्याल, नगर प्रवक्ता दिपेन्द्र के.सी., दभुङ ठाटी मा.वि. का प्रधानाध्यापक सुभास गहतराज,संस्थाका सदस्य सुवास रोका, संस्थाका पूर्व संरक्षक हर्क रोका लगायतले संस्थाको सामाजिक कार्यको चर्चा परिचर्चा एवं प्रशंसा गर्नुभएको थियो।