विद्यार्थीको उपचारका लागि शिक्षकको नेतृत्वमा सहयोग
बार्दलीबाट खसेर गम्भीर घाइते भइ टाउकोको अप्रेसन गरेका कन्साइन्स आवासिय माध्यमिक विद्यालयका विद्यार्थी किरण परियारको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ। विद्यालयका सहायक प्रधानाध्यापक माधव प्रसाद रेग्मीको नेतृत्वमा संकलित १ लाख ३ हजार रूपैयाँ परिवारलाई हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक साजन परियारले जानकारी दिनुभयो।
भीरकोट नगरपालिका स्थित कन्साइन्स आवासीय माध्यमिक विद्यालयमा एल.के.जीमा अध्ययन गर्दै आएका किरण परियार साउन १३ गते घरमा खेल्ने क्रममा बार्दलीबाट खसेका थिए । हजुरबुबा प्रेम बहादुर परिवारको आर्थिक अवस्था कमजोर भएको हुनाले सोही विद्यालयका सहायक प्रधानाध्यापक रेग्मीको नेतृत्वमा सहयोग संकलन अभियान सुरु गरिएको थियो ।
दुई महिनाको अवधिमा जम्मा भएको रकम बुधबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी संकलित रकम विद्यार्थीका हजुरबुबा प्रेम बहादुर परियारलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा बोल्दै सहायक प्रधानाध्यापक रेग्मीले देश तथा विदेशबाट विभिन्न व्यक्तिहरुबाट सहयोग रकम उपलब्ध भएको कुरा जानकारी गराउनु भयो ।साथै सहयोग प्रदान गर्ने सम्पूर्ण व्यक्तिहरूलाई हृदयदेखी नै धन्यवाद व्यक्त गर्नुभयो ।
विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाहरूको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक साजन परियारले समाजको सुख दु:खमा साथ दिनु हामी सबैको साझा दायित्व रहेको बताउनुभयो।अप्ठ्यारोमा परेका अभिभावक र विद्यार्थीको सहयोग रकम संकलन गर्ने नेतृत्व लिएकोमा सहायक प्रधानाध्यापक रेग्मीलाई उहाँले धन्यवाद व्यक्त गर्नुभएको थियो।