फोहोरमैला व्यवस्थापनबाट वार्षिक लाखौं आम्दानी

जेठ २९, २०७९


नारायण प्रसाद कोइराला,२२ साउन  २०७९



नेपालको राजधानी काठमाडौं लगायतका मुख्य शहरहरुमा फोहोरमैला व्यवस्थापन बनीरहेका बेला स्याङ्जाको बालमैत्री नगरपालिका भीरकोटले भने फोहोरमैला ब्यवस्थापनबाटै बार्षिक करीब १० लाख  आम्दानी गरेको छ । नगरपालिकाभित्र उत्सर्जन हुने फोहोरलाई मोहरमा परिणत गर्न नगरपालिकाले वडा नं. ४ मा संघीय विशेष अनुदान र नगरपालिकाको  २ करोड ७४ लाख ८५ हजारको लगानीमा पार्क, प्रशासनिक भवन सहितको व्यवस्थित र वातावरणमैत्री सरसफाई केन्द्र निर्माण गरेको छ ।

भीरकोट पार्क र फोहोरमैला व्यवस्थापनको प्रशासकीय भवन
बेच्नका लागि तयारी अवस्थामा राखिएको फोहोर


नगरपालिकाले बजारक्षेत्रबाट संकलन हुने फोहोरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गरेर कुहिने फोहोरबाट जैविक मल उत्पादन गर्ने र पुनः प्रयोगमा आउने सिसा, फलाम र प्लाष्टिकजन्य फोहोरलाई बिक्री वितरण गर्दै आएको छ । नकुहिने तर पुनः प्रयोग गर्न नसकिने फोहोरलाई भने खाल्डोमा पुरी व्यवस्थापन गर्ने गरिन्छ ।  करिब २५ रोपनी क्षेत्रफलमा फैलिएको सरसफाई केन्द्रलाई सुन्दर र दुर्गन्ध रहित बनाउन नगरपालिकाले आधुनिक मेसिनको प्रयोग गरी कुहिने वस्तुबाट जैविक मल उत्पादन गर्ने गरेको छ । साथसाथै सफाई केन्द्र परिसरमा पर्याप्त मात्रामा वृक्षारोपण पनि गरिएको छ । पक्की पर्खाल सहितको व्यवस्थित संरचना निर्माण गरिएको सफाई केन्द्र नजिकै पार्क निर्माण गरिएको छ । शान्त र मनोरम वातावरण भएकाले पार्क पनि आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।पार्कबाट मात्रै हालसम्म करिब १० हजार रूपैयाँ आम्दानी भएको छ।

भीरकोट पार्कभित्रको फूटट्रेल
फोहोरमैला छुट्याउँदै सरसफाइ कर्मचारीहरू

नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ मा फोहोरमैला व्यवस्थापनबाट ६ लाख ६ हजार ६ सय ५४ रुपैंया आम्दानी गरेको थियो भने यस आर्थिक वर्षको २०७८/७९   रु. ९ लाख ८ हजार ५ सय ६२ रुपैंया आम्दानी गरेको नगरपालिकाका राजस्व शाखा प्रमुख सन्तोष ढकाल र फोहोरमैला व्यवस्थापक कृष्णप्रसाद अर्यालले जानकारी दिनुभयो । फोहोरमैला व्यवस्थापनको निम्ती सरसफाई केन्द्रमा ७ जना कर्मचारी कार्यरत छन् । सरसफाई केन्द्रको व्यवस्थापकीय जिम्मेवारी सम्हालेका कृष्ण प्रसाद अर्यालका अनुसार आर्थिक वर्ष २०७८/७९ संकलन भएको करिब ३ लाख बराबरको फोहोरजन्य सामाग्री स्टक रहेको छ। फोहोरमैला व्यवस्थापन एवं   बिक्रीबाट आन्तरिक राजस्वमा समेत टेवा पुगेको छ।

पार्क र प्रशासकीय भवन

नगरपालिकाले वडा नं १ को बयरघारी, दार्सीङ, हेलु, वडा नं २ को बयरघारी, दहथुम, वडा नं ४ को झारूङखोला,गैह्राथोक, छाङ्गछाङ्गी र वडा नं ५ र ६ को सुन्दरबजार क्षेत्रबाट नियमित रूपमा फोहरमैला संकलन गरिरहेको छ।नगर भित्र फोहोरमैला संकलन गरिने घर परिवार संख्या ५५० रहेको छ।पार्कको सरसफाई र व्यवस्थापन गर्न आगामी भदौ १ गतेदेखी लागू हुने गरि प्रती व्यक्ति रू २०रूपैयाँ प्रवेश शुल्क लाग्ने नगरपालिकाले जनाएको छ।यसैगरी वनभोज प्रयोजनका लागि समुहमा आउनेलाई २० जनाको समुहसम्म ५०० रूपैयाँ र २० जना भन्दा बढीलाई १००० रूपैयाँ प्रवेश शुल्क लाग्नेछ।अन्य जिल्लाबाट समुहमा भ्रमण तथा वनभोजमा आउनेलाई ३००० हजार रूपैयाँ शुल्क लाग्ने बताइएको छ। तर ५ वर्ष मुनिका र ६८ वर्ष माथिका व्यक्तिलाई भने कुनै शुल्क लाग्ने छैन।