वडा नं ८ को नवनिर्मित वडा कार्यालय भवनको समुद्घाटन
कात्तिक १५, भीरकोट खबर डेस्क;
भीरकोट नगरपालिका वडा नं ८ को नवनिर्मित वडा कार्यालयको समुद्घाटन गरिएको छ।आज एक औपचारिक कार्यक्रमबिच जामुनेडाँडामा नवनिर्मित भवनको समुद्धाटन नगर प्रमुख छायाराम खनालले गर्नुभएको हो। वडा नं ८ का जनप्रतिनिधिहरू, बोर्ड सदस्यहरू र स्थानीय जनताको सहभागिता रहेको उक्त कार्यक्रममा निर्माण समितिका अध्यक्ष बिमल खत्रीले तोकिएको निर्माण काम सम्पन्न गरेर बाँकी रहेको नगद रू. तेह्र हजार नगर प्रमुख छायाराम खनाललाई हस्तान्तरण गर्नुभएको थियो।आफ्नो जिम्मेवारीबोध गर्दै कर्तव्यनिष्ट र इमान्दार भएर निर्माण सम्पन्न गर्न सफल भएको र बचेको रकम समेत फिर्ता गरेकोमा नगर प्रमुख खनालले निर्माण समितिको खुलेर प्रशंसा गर्नुभएको थियो।सुशासन र विधिको शासन आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै खनालले जनतालाई सहज सेवा प्रवाह गर्ने उद्देश्यले नयाँ भवन निर्माण गरि जामुनेडाँडाको नयाँ र मोहनडाँडाको पुरानो दुबै वडा कार्यालयबाट सेवा प्रदान गरिने बताउनुभएको थियो।
निर्माण समितिका अध्यक्ष खत्रीका अनुसार आयोजनाको कुल बजेट ९ लाख ८० हजार रहेको थियो।दुई कोठे पक्की भवन निर्माणका लागि कन्टिन्जेन्सी बाहेक समितिले नगद रू ९ लाख ५८ हजार ८ सय ९४ रुपैयाँ बराबरको काम गर्नुपर्ने थियो। निर्माण समितिले सक्रिय भएर कार्य गरेकाले रू १३,००० बचत गर्न सफल भएको खत्रीले बताउनुभयो।उहाँका अनुसार इस्टिमेट भए भन्दा बढी बिजुली जडान र कार्यालयको नाम ठेगाना भित्तेलेखन गर्दा समेत उक्त रकम बचत भएको हो।हिसाब बराबर वा बढी खर्च भएको देखाउने प्रवृतिको ठिक विपरीत अध्यक्ष खत्रीले बचत रकम फिर्ता गरेर उदाहरणीय कार्य गर्नुभएको छ। भौगोलिक असहजताका कारण वडा नं ८ ले मोहनडाँडा र जामुनेडाँडा दुवै ठाउँबाट जनआवश्यकता अनुसार सेवा प्रवाह गर्दै आएको छ।