वन ऐन पारित


स्थानीय वन ऐनको परिकल्पना सहित वालिङ नगरले वन ऐन पारित गरेको छ । नगरले १७ औँ नगर सभाबाट वन ऐन पारित गरेको सभा अध्यक्ष तथा तथा नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो ।
२१ वटा ऐन निर्माण गरिसकेको वालिङले वन ऐन पारित गरेसँगै यहाँको स्रोतसाधनबाट आर्थिक लाभ लिने विश्वास लिइएको छ । यस्तै , दिगो विकासको लक्ष्यलाई टेवा पुग्ने , वन संरक्षणमा सुधार गर्न सकिने खाँणको भनाई छ ।

यस्तै राष्ट्रिय गौरवको योजना संचालन गर्दा वन क्षेत्रमा हुन सक्ने क्षतिको क्षतिपूर्ति दिलाउनको लागि नगरले सम्वन्धित आयोजनासँग पहल गर्न सक्ने ऐनमा उल्लेख छ ।
उक्त ऐनमा वन उद्यम , वनमा रोजगारी सिर्जना हुने विरुवा रोपण , सामुदायिक वनको सुचीकृत र अनुगमनलाई समावेश गरिएको उपप्रमुख कविता तिवारी गैह्रेको भनाई छ ।
समुदायको जीवनशैली , परम्परा र स्रोत उपयोगको तरिकालाई ध्यानमा राखेर ऐन निर्माण गरिएको प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले बताउनुभयो ।
उक्त सभाले केही कार्यविधि तथा ऐन माथि संशोधन गरेको छ ।