भीरकोटमा सपिङ ब्याग सिलाउने तालिमको उद्घाटन

स्मार्ट सम्वाददाता
१८ वैशाख, २०८१
गण्डकी प्रदेश सरकार र भीरकोट नगरपालिकाद्वारा सञ्चालित मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत भीरकोट नगरपालिकामा पुनः प्रयोग गर्न मिल्ने किनमेल झोला (सपिङ ब्याग) सिलाउने पुर्नताजगी तालिम कार्यक्रमको सुरुवात भएको छ । आर्थिक वर्ष २०८०–०८१ का लागि स्वीकृत प्लास्टिक झोलामुक्त नगरपालिका र सूचना प्रविधिमैत्री सामुदायिक विद्यालय कार्यक्रम अन्तर्गत प्लास्टिक झोलाको प्रयोगमा न्यूनीकरण गर्न भीरकोटमा नै सिलाउने र वितरण गर्ने उद्देश्य अनुरुप उक्त कार्यक्रम गरिएको हो ।

भीरकोट नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार कर्माचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगर उपप्रमुख भगवती रेग्मी अर्याल, प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगाना, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू लगायतको उपस्थिति रहेको थियो । २४ वैशाखसम्म चल्ने उक्त कार्यक्रममा ९ वटै वडाबाट कुल २१ जना प्रशिक्षार्थीहरू सहभागी भएका छन् ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै भीरकोट नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल खनालले गाउँमा उत्पादन भएको कुनै पनि उपज बजार झार्ने नगरिएको तर प्रदुषण फैलाउने प्लाष्टिकहरू बजारबाट गाउँतिर लैजाँदा झनै प्रदुषण बढ्ने भएकाले यसको न्यूनीकरणमा पनि यस कार्यक्रमले सहयोग गर्ने बताए । नगर उपप्रमुख भगवती रेग्मी अर्यालले यस तालिमबाट प्रशिक्षित प्रशिक्षार्थीहरू आत्मनिर्भर पनि हुने र नगरपालिकाको अभियानमा सहयोग पुग्ने भएकोले तालिममा सक्रिय सहभागी भई पूर्ण रुपमा दक्ष हुन सम्पूर्ण प्रशिक्षार्थीहरूलाई अनुरोध गरिन् ।
भीरकोट नगरपालिकाभित्र उत्सर्जित फोहरहरू कुहिने र नकुहिनेमा वर्गीकरण तथा प्रशोधन गरी बिक्री गर्ने गरिएको तर प्लाष्टिकजन्य फोहरहरु बिक्री गर्न समेत कठिनाई हुने भएको प्रशंग जनाउँदै प्लाष्टिक जन्य फोहरहरूको प्रयोगमा नै न्यूनीकरण गर्नुपर्ने देखिएकोले सोही अनुरुप यो कार्यक्रमको सुरुवात गरिएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले बताए ।
सीप भएको व्यक्ति खाली बस्नु नपर्ने र आफूले जति उत्पादन गरेर बिक्री गर्न सक्यो त्यति नै आम्दानी हुने कुरामा जोड दिँदै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले उत्पादित झोला सुरुमा भीरकोटका जनतालाई निःशुल्क वितरण गर्नुका साथै बिक्रीमा पनि राख्ने उद्देश्य रहेकोले यस झोलाको माग भइरहने भएकोले आम्दानी निरन्तर भइरहने कुरा बताए ।