सार्वजनिक सवारीलाई व्यवस्थित र मर्यादित बनाउन ट्राफिक प्रहरीको निर्देशन
जिल्ला ट्राफिक प्रहरी कार्यालय, स्याङ्जाले सार्वजनिक सवारीलाई व्यवस्थित र मर्यादित बनाउन यातायात व्यवसायीहरूलाई निर्देशन दिएको छ। सवारी जाँच तथा अनुगमन गर्दा भाडादरमा एकरूपता नभएको,जेष्ठ नागरिक , महिला र अशक्तहरूलाई आरक्षण सिट उपलब्ध नगराएको, विद्यार्थी, जेष्ठ नागरिक र अशक्तलाई भाडादरमा छुट नदिएकाले ट्राफिक प्रहरीले कानुनी व्यवस्था बमोजिम सार्वजनिक सवारी साधनलाई व्यवस्थित र मर्यादित बनाउन यातायात संचालक समितिहरूलाई परिपत्र समेत गरेको छ।
जिल्ला ट्राफिक कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायव निरीक्षक केशर बहादुर मल्लले लामो तथा छोटो दुरीमा संचालनमा रहेका सार्वजनिक सवारीसाधनमा लापरबाही बढेको तथा यात्रा गर्ने यात्रुहरूको विवरण समेत नराख्ने गरेको पाइएकाले कानुनबमोजिम व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिइएको बताउनुभयो। उहाँका अनुसार सवारी साधनमा प्रचलित भाडादर टास्न, तोकिएबमोजिम लक्षित वर्गलाई छुट दिन , आरक्षण सिट लेख्न, प्राथमिक उपचार सामाग्री , डस्ट्बिन राख्न सवारी चालक र यातायात व्यवसायी दुबैलाई जानकारी समेत गराइसकिएको छ। यसका साथै लामो दुरीमा सञ्चालन हुने प्रत्येक सवारीहरुमा सवार सम्पुर्ण यात्रुहरुको अभिलेख राखि ट्राफिक प्रहरीले चेकजांँच तथा अनुगमन हुंँदा तुरुन्तै देखाउन सक्ने गरी राख्न समेत निदेशन दिइएको छ। प्रहरीले लामो दुरीका यात्रुहरूलाई सकेसम्म टिकट लिएर मात्रै यात्रा गर्न अनुरोध गरेको छ।
प्रहरीले दिएको निर्देशन एवं परिपत्र बमोजिम सार्वजनिक यातायात संचालकहरूले सार्वजनिक सवारी साधनलाई व्यवस्थित र मर्यादित नबनाएको पाईएमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाही हुने जिल्ला ट्राफिक कार्यालय प्रमुख मल्लले बताउनु भएको छ।