अवैध ढुङ्गा ओसारपसार गर्दा २० हजार जरीवाना
स्याङ्जामा नदिजन्य सामाग्रीको अवैध ओसारपसार गर्ने सवारीधनीलाई २० हजार रूपैयाँ जरीवाना लिइएको छ। जिल्लाको भीरकोट नगरपालिका वडा नं १ का वडा सदस्य खुम बहादुर खाँणका २ वटा ट्याक्टर ढुङ्गा सहित भाद्र ३० गते दहथुम प्रहरीले नियन्त्रणमा लिएको थियो। भीरकोट नगरपालिकाको प्रचलित कानुन बमोजिम प्रती ट्याक्टर १० हजारका दरले २० हजार राजस्व लिइएको प्रशासन शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो।
दहथुम प्रहरी चौकी, बयरघारीबाट गस्तीमा खटिएको प्रहरीले २ वटा ट्याक्टरहरूलाई ग १ त ७३३७ र प्र .२-०३-००१ त ४०१० नम्बरका ट्याक्टरहरूलाई नियन्त्रणमा लिएको थियो।नगरपालिकामा २० हजार रूपैयाँ जरीवाना बुझाएपछि ट्याक्टर सवारीधनीलाई बुझाइएको प्रहरी चौकी प्रमुख प्रमोद कंँडेले जानकारी दिनुभयो।
भीरकोटमा छाङ्छाङ्दी, बयरघारी र हेलु आसपासका क्षेत्रमा नदीजन्य सामाग्री रातीको समयमा अवैध चोरी निकासी भैरहेको गोप्य सूचनाका आधारमा अवैध चोरी निकासी नियन्त्रणमा खटिएको प्रहरीले जनप्रतिनिधिकै ट्याक्टर नियन्त्रणमा लिएको थियो। सवारी धनी एवं जनप्रतिनिधि खांँणको मिस्कट र बालुवाको स्टक प्रमाणित भएपनि ढुङ्गाको स्टक प्रमाणित नभएको र खरिद गरिएको बिल समेत नभएकाले नियन्त्रणमा लिइएको दहथुम प्रहरी चौकी प्रमुख प्रमोद कँडेलले जानकारी दिनुभयो।
अघिपछि नियन्त्रणमा लिइएपनि सामान्य जरीवाना वा मिलोमतोमा ट्याक्टर छोड्ने गरिएको थियो। तर दहथुम प्रहरी चौकीमा कार्यालय प्रमुखको रूपमा प्रमोद कँडेलले जिम्मेवारी पाएपछि जनप्रतिनिधिकै ट्याक्टर समेत प्रहरी नियन्त्रणमा परेका हुन्। कँडेलले जिम्मेवारी सम्हालेपछि भीरकोटको शान्ती सुरक्षामा समेत सुधार भएको छ। नदीजन्य सामाग्रीको अवैध ओसारपसारमा पनि कमी आएको छ।अवैध गतिविधि विरूद्ध उहाँको दभङ्ग शैलीमा एक्सनमा उत्रिने कारणले बजार क्षेत्रमा लागू औषध दुर्व्यसनी, चोरी डकैती , नदीजन्य सामाग्रीको अवैध चोरी निकासी नियन्त्रणमा आएका छन्।
यद्यपि वालिङ र भीरकोटको सिमाना आसपासका क्षेत्रमा रातीको समयमा अवैध चोरी निकासी भैरहेको र नगरपालिकामा जानकारी गराउँदा समेत स्थानीय सरकारहरूले चासो नलिएको स्थानीयहरूले जानकारी दिएका छन्।