नाम जस्तै सुन्दर बन्दै छ सुन्दरचौर

बैशाख ३१, २०८०


रबि थापा, ३१ वैशाख २०८०

वैशाख महिनाको २० गते विहानै भएपनि चटक्क पोल्ने घाम । घडीमा १० बझ्नै लाग्दा सबैजना कार्यालय जाने हतारमा देखिन्थे । भीरकोट नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लक्ष्मण खत्री पनि काममा जानको लागि हतार नै थिए तर उनी वडा कार्यालयको काम नभई आफ्नै वडामा रहेको पर्यटकीय स्थल सुन्दरचौरलाई थप सुन्दर बनाउनका लागि श्रमदान गर्न जाने हतारमा थिए ।

अध्यक्ष खत्री हातमा हसियाँ लिएर उक्त स्थलको झाडि फाड्ने र कामदारहरूलाई चाहिएको सामाग्रीको व्यवस्था गरेर दैनिकी बिताएको १० देखि १५ दिन भएको बताए ।

वि.स. २०५८ सालमा मध्य–पहाडी क्षेत्रका जैविक विविधतासम्बन्धी अध्ययन, अनुसन्धान र ग्रामीण पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले ’सुन्दरचौर वनस्पति सूचना केन्द्र’ स्थापना गरिएको हो । विशेष गरी स्याङ्जा जिल्ला तथा मध्यपहाडी क्षेत्रमा पाइने दुर्लभ जडीबुटी रोपण गरी वनस्पति अनुसन्धान केन्द्र निर्माण गरिएको उक्त स्थलमा सम्बन्धीत निकायहरूको वेवास्ता र नागरिकहरूको लापरबाहीका कारण कुरुप बन्दै गएको थियो ।

तर अध्यक्ष खत्रीको दोस्रो कार्यकालका लागि निर्वाचित भएसँगै उक्त स्थलको स्याहार गर्न लागि परेका छन् । वडा अध्यक्षको निर्वाचनमा सहभागी हुदाँ नै आफ्नो घोषणापत्रमा सुन्दर चौरलाई थप सुन्दर बनाउने अठोटका साथ अघि बढेका अध्यक्ष खत्रीले आफ्नो यो दोस्रो कार्यकालमा वडामा रहेका सम्पूर्ण पर्यटकीय स्थललाई संरक्षण एंव सुन्दर बनाउने बताए ।

“प्रकृतिले भीरकोटलाई यसै पनि सुन्दर त बनाएको छ। सुनमा सुगन्ध भनेझैँ सुन्दरचौरलाई अझै उत्कृष्ट रूपमा सजाउन अनेक किसिमका प्राकृतिक वनस्पतिहरूको रोपण गरिएको हो,” अध्यक्ष खत्रीले भने । उक्त स्थान सामुन्द्रिक सतहदेखि १००० मिटरको उचाइमा रहेको छ । सुन्दर चौर २.२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यस स्थानका वरिपरि पानीका पोखरी, पानीका फोहोराहरु र चिप्लेटी र ३० फिट अग्लो टावर निर्माण गरिएको छ ।



यहाँं विभिन्न प्रजातिका वनस्पतिहरू जस्तै– रुद्राक्ष, असोक, गोलमोहर, कल्कीफूल, तेजपात, मामी, सल्ला, लौठसल्लालगायत विरूवा रोपिएका छन् । यसै स्थानबाट बयरघारी सेरोफेरो, महापुर, मैदान, ठुलीभन्ज्याङ, सानोभन्ज्याङ, दार्सिङका साथै आँधीखोलाको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।

स्थानीयको चासो

पर्यटकीय स्थल सुन्दर चौरलाई थप सुन्दर बनाउनको लागि निर्माण कार्यहरू तिव्र रूपमा अघि बढेका छन् । त्यो सँगै विभिन्न ठाउँबाट उक्त स्थान घुम्न आउने मानिसको पनि संख्या बढ्दो रहेको छ । उक्त स्थलमा मानिसहरू पिक्निक खानादेखि मनोरम दृष्यको अवलोकन गर्न आउन थालेको अध्यक्ष खत्रीले बताए ।

निर्माण कार्य सुरू भएपछि दैनिक १० देखि १५ जनाको समूहहरू अवलोकन गर्न आएको अध्यक्ष खत्रीले बताए । केही महिना अघि स्थानीयले नै वेवास्ता गरेको स्थानमा अहिले स्थानीयहरूले यसलाई उत्कृष्ट बनाउको लागि परेको छन् ।

भीरकोट नगरपालिका वडा नम्बर ६ लुब्दीखोला आमा समूहकी अध्यक्ष कल्पना थापाले केही समय अघिको सुन्दर चौर र हालको सुन्दरचौरमा आकाश जमिनको फरक रहेको बताइन् । उनले भनिन्, “यो स्थानमा विगतमा केही गलत मान्छेले लागू औषध प्रयोग गर्ने स्थान बनाएका थिए । तर पछिल्लो समय पालिकादेखि वडाका जनप्रतिनिधिहरू एक भएर लाग्दा यो स्थानले मुहार फेरेको छ । यसमा हाम्रो पनि साथ र सहयोग छ ।”

भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कर्मचार्यले स्थानीयको साथ र सहयोगले मात्र उक्त स्थानलाई उत्कृष्ट पर्यटकीय स्थलको रुपमा चिनाउन सम्भव हुने बताए । आफ्नो पाँच वर्षको कार्यकालमा भीरकोटमा रहेका सम्पूर्ण पर्यटकीय स्थललाई व्यवस्थित बनाएर आर्यआर्जनको बाटो बनाउने उनको भनाइ छ ।

थोरै बजेटमा उत्कृष्ट काम

स्थानीय निर्वाचन २०७४ मा समेत वडा अध्यक्षमा विजयी भएका खत्रीले अघिल्लो कार्यकालमा भीरकोट सरकारले राजनीतिक पूर्वाग्रह राख्दा आफूले चाहे जति काम गर्न असर्मथ रहेको बताए ।

उनले भने, “अघिल्लो पटकको भीरकोट सरकारमा बजेटको लागि माग गर्दा वास्ता नगर्नेदेखि मैले गरेको काममा सर्मथन नहुँदा अघिल्लो पटक धेरै काम गर्न असर्मथ भएँ । यो कार्यकालमा यस्ता स्थान उत्कृष्ट बनाउने छु ।”

खत्रीले भीरकोटमा नयाँ सरकारको आगमन भएसँगै आफूलाई काम गर्न सहज भएको बताए । उनका अनुसार वर्तमान नगरप्रमुख गोविन्द कर्मचार्यले उक्त स्थानमा आफैँ आएर निरिक्षण गरेका छन् ।

अध्यक्ष खत्रीले सुन्दरचौरमा पहिला लागूऔषध प्रयोगदेखि अन्य सामाजिक विकृतिका कामहरू हुने गरेकाले यसलाई चारैतिरबाट तारले घेरा लगाउनको निम्ती गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट पाँच लाख रुपैयाँ विनियोजन भएको बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आएको पाँच लाख मध्ये हाल ४ लाख २० हजार रहेको र त्यसलाई पनि त्यै स्थानमा परिचालन गर्ने निर्णय गरेको केसीले बताए । त्यस्तै वडा समितिबाट चार लाख बजेट विनियोजन गरेको र त्यो बजेटपनि पौडी पोखरी, स्विमिङ पुल पुल मर्मतको लागि खर्च गर्ने निर्णय गरेको उनले बताएका छन् ।

भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कर्मचार्यले उक्त स्थानलाई आर्कषक बनाउको लागि नगरपालिकाले पनि सक्दो सहयोग गरेको बताए । पालिकाले उक्त स्थानलाई थप व्यवस्थापन गर्नको निम्ति बिजुलीका लागि भनेर नयाँ पोल, तार र त्यै स्थानमा रहेको मन्दिरका लागि प्रदेशबाट पाँच लाख रुपैयाँ माग गरेर उक्त रकम विनियोजन गरेको छ ।

त्यसैगरी भीरकोट नगरपालिका र युएनडिपिको सहयोगमा सुन्दरचौर बगैँचा निर्माणको लागि ३ लाख ४० हजार छुटाएको र सोही स्थानको सडक निर्माणको लागि पालिकाबाट १० लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरप्रमुख कर्मचार्यले बताए ।

आर्थिक मन्दीको असर

पर्यटकीय स्थल सुन्दर चौरमा जानको लागि व्यवस्थित सडकको व्यवस्था भने भएको छैन । वर्षैदेखि निर्माणको लागि भनेर भनेर केन्द्रबाट बजेट ल्याउने र गुणस्तरहिन कार्य गर्दा उक्त सडकमार्ग व्यवस्थित नबनेको स्थानीयहरू बताउँछन् । तर आफ्नो पाँच वर्षको कार्यकालमा भीरकोटका ग्रामीण सडकलाई थप व्यवस्थित गर्नदेखि कालोपत्रे गर्ने भनेर घोषणापत्रमा उल्लेख गरेका नगरप्रमुख गोविन्द कर्मचार्यले आर्थिक मन्दीका कारण बजेटमा सडक स्तरोन्नति कालोपत्रेको विषयले स्थान नपाउने लक्ष्य रहेको बताए । उनले भने, “अघिल्लो पटक नेकपा एमालेको सरकार हुदाँ ५० लाख बजेट परेको र केही काम भएको देखिएको छ । तर त्यति व्यवस्थित र गुणस्तरीय तरिकाले निर्माण भएको पाइएन ।”

“केही महिना अघि सिंहदरबार गएर हाम्रा केही विषयहरू बजेटमा समेटन्न अनुरोध त गरेका थियौँ । तर आर्थिक मन्दीका कारण बजेट पठाउन नसक्ने कुरा आएको छ” उनले भने । योसँगै उक्त सडकलाई थप व्यवस्थित बनाउनको लागि बजेट नआउँदा बनाउन नसक्ने बताए ।