पर्यटन मन्त्री पाण्डे मंगलबार स्याङ्जा आउने

फागुन ०३, २०८१     स्मार्ट संवाददाता


नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे मंगलबार स्याङ्जा आउनुहुने  भएको छ । अर्जुनचौपारी गाउँपालिकामा नवनिर्मित नेपालकै पहिलो नवग्रह मन्दिर उद्घाटन गर्न मन्त्री पाण्डे स्याङ्जा आउनुहुने  भएको हो ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ पञ्चकन्या तथा जलवराह धार्मिक वन केटीचौर (सिमलचौर) मा अवस्थित पञ्चकन्या देवी मन्दिरको नजिकै नेपालकै पहिलो नवग्रह (नौ आकाशीय पिण्ड) मन्दिरको निर्माण गरिएको छ ।

नेपालमा ग्रहकै मात्र पूजा गरिने मन्दिर नभएको अवस्थामा पहिलोपटक नवग्रह मन्दिर अर्जुनचौपारीमा निर्माण गरिएको हो । घर तथा शक्तिपीठको एक नवग्रहको प्रतिमा राखेर पूजा गर्ने गरिएकोमा यहाँ नवग्रह मन्दिरको दर्शन तथा पूजा गर्न पाइने भएको हो ।

नवग्रह मन्दिर बनेसँगै पालिकाले प्राण प्रतिष्ठा तथा अनुष्ठान महाशिवरात्रीको अवसर पारेर गर्ने तयारी गरेको छ । यही फाल्गुन ६ देखि १४ गतेसम्म १ करोड २५ लाख दिप प्रज्वलन गरी भव्य रूपमा अनुष्ठान गर्ने गाउँपालिकाको तयारी रहेको छ ।

विरलै आउने महाकुम्भको समय अत्यन्त शक्तिशाली र पवित्र हुने हुँदा यसै अवसरमा अनुष्ठान सम्पन्न गर्ने गरी पालिकाले नवग्रह मन्दिरको निर्माण गरेको हो । आचार्य श्री चैतन्य कृष्ण महाराज गुरु प्रमुख वाचक रहने प्राण प्रतिष्ठा तथा अनुष्ठानमा राधिका दाशी, केएन स्वामी, लोकानन्द स्वामी लगायतले धार्मिक प्रवचन र देवी घर्ती, राजु ढकाल, खुमन अधिकारी लगायतका कलाकारले मनोरञ्जन दिनुहुने छ ।