भीरकोटमा नगर स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

भदौ २१, २०८१     नारायणप्रसाद कोइराला


भीरकोट नगरपालिकामा नगर स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ। भीरकोट नव जागरण महिला समूहले  हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज २०८१ को पावन अवसरमा भीरकोट स्तरीय खुल्ला तीज गीत प्रतियोगिताको आयोजना  गरेको थियो।



शुक्रवार बालज्योती अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा भएको  तीज गीत प्रतियोगितामा सहनशील आमा समूह प्रथम भएको छ। यसैगरी जय गणेश आमा समूह द्वितीय , सृजनशील आमा समूह(वडा नं २) तृतीय र सृजनशील आमा समूह (वडा नं ७) सान्त्वना भएका छन्। प्रतियोगिताका विजेताहरूले  प्रथम पुरस्कार  १५ हजार ,  द्वितीय ,तृतीय  र सान्त्वना पुरस्कार क्रमश  नगद रू १० हजार , ६ र ४ हजार  हजार प्राप्त गरेका छन्।



प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा शुभलक्ष्मी बचत तथा ऋण सहकारी, भीरकोट रहेको थियो। संस्थाका व्यवस्थापक लेखबहादुर के.सी. ले तीज पर्वलाई हर्षोउल्लासमय बनाउन सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतियोगिता संचालनमा सहयोग गरिएको बताए। आयोजक संस्थाकी अध्यक्ष सिमा के.सी . कर्माचार्यले तीजको अवसरमा नगरपालिका र अन्य कुनै पनि संघसंस्थाले नगरस्तरीय प्रतियोगिता आयोजना नगरेका कारण तीजलाई उल्लासमय बनाउन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।

“तीजको संस्कृति र मौलिकता” विषयमा  प्रतियोगीहरूले गीत गाएका थिए। प्रतियोगितामा  जम्मा  १२ वटा  आमा समुहले  प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको निर्णायकको भूमिकामा पब्लिक आवाज साप्ताहिकका सम्पादक अमृत अर्याल, शिक्षकहरू मनिषा कोइराला र पार्वती अधिकारी रहनुभएको थियो।

गण्डकी प्रदेश सभा सदस्य सरस्वती अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस सम्बद्ध पार्टीका नेताहरूको बाहुल्यता रहेको थियो। कार्यक्रमको संचालन संस्थाकी सचिव इन्दिरा के.सी. ले गर्नुभएको थियो।