शिक्षक संघ भीरकोटद्वारा शिक्षक सम्मान


शिक्षक संघ , भीरकोटले भीरकोट नगरपालिकाका शिक्षकहरूलाई सम्मान गरेको छ। संघले शिक्षक सेवामा प्रवेश गर्नुभएका नवआगन्तुक १५ जना , सेवाकालीन अवस्थामा रहनु भएका ५ जना शिक्षक र सेवा निवृत्त हुनुभएका २ जना शिक्षकहरूलाई सम्मान गरेको हो।
“गुणस्तरीय शिक्षाको आधार,मर्यादित पेसाको पूर्वाधार” भन्ने मूल नारा सहित स्थापित भीरकोट शिक्षक संघको छैटौं प्रतिनिधि सभाको अवसरमा शिक्षकहरूलाई सम्मान गरिएको शिक्षक संघ भीरकोटका अध्यक्ष चोलाकान्त काफ्लेले जानकारी दिनुभयो। कार्यक्रममा गण्डकी प्रदेश निवर्तमान शिक्षा तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले समग्र देशको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सक्षम,दक्ष तथा प्रतिभावान व्यक्तिलाई शिक्षक सेवाको क्षेत्रमा समावेश गर्न आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने बताउनुभयो । सम्मान कार्यक्रममा कार्यक्रममा शिक्षक संघ स्याङ्जा जिल्ला अध्यक्ष पशुपति पाैडेल, नेपाली कांग्रेस भीरकोटका पार्टी सभापति यामप्रसाद अधिकारी ,भीरकोट ७ वडा अध्यक्ष तारा अर्याल,शिक्षक संघ स्याङ्जा जिल्ला सचिव युवराज ढकाल,संघीय प्रतिनिधि शेषकान्त खनाल,निवर्तमान भीरकोट शिक्षक संघ अध्यक्ष रेशम खनाल ,सहसचिव युवराज कट्टेल, प्रधानाध्यापक संघ भीरकोटका अध्यक्ष देबकी रेग्मी ,ट्रेड यूनियन भीरकोट अध्यक्ष राजेन्द्र कुमार खाँण,शिक्षक संघ प्रदेश प्रतिनिधि सुनिता उच्चै लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। हिरा देवी खनालको स्वागत संँगै सुरू भएको कार्यक्रममा सहभागीहरु बीच अन्तर्क्रिया कार्यक्रम पनि राखिएको थियो।अन्तर्क्रियामा सहभागी शिक्षकहरुले शिक्षण पेसालाई समाजको तल्लो स्तरको पेसाका रुपमा रहने गरी राज्यबाट विभिन्न तवरले विभेद गरिएको,बीसौं वर्ष सम्म पनि एउटै तह र श्रेणीमा काम गर्नु परेको,तहगत बढुवाको प्रबन्ध नगरिएको,पारिश्रमिक प्राप्त गर्न ३-४ महिना व्यतीत गर्नु परेको लगायतका गुनासा प्रकट गर्नु भएको थियो।

भीरकोटका विभिन्न विद्यालयका एक सय भन्दा बढी शिक्षकहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन तथा उठेका विषयवस्तुको अभिलेखीकरण शिक्षक संघ भीरकोटका सचिव कृष्ण प्रसाद पौडेलले गर्नु भएको थियो।