स्याङ्जा आँधिखाेला महाेत्सब सम्पन्न, ५७ हजार दर्शकले अवलाेकन
माघ ०३, २०८०
रमेश गाेदार, स्याङ्जा
३ माघ २०८०, मंगलबार
स्याङजा चेम्बर अफ कमर्श स्याङजाले पुस १९ गतेबाट संचालन गरेको दोस्रो स्याङजा आँधीखोला महोत्सव सोमबार सम्पन्न भएको छ । १३ दिन सम्म स्याङ्जाको मालेबगरमा संचालन भएको महोत्सवको समापन गर्दै चेम्बर अफ कमर्श स्याङजाका अध्यक्ष लोकनाथ रेग्मीले मुख्य प्रायोजक पुतलीबजार नगरपालिका लगायत जिल्लाका सबै स्थानीय तह, स्थानीय प्रशासन, विभिन्न सहयोगी संस्था एवं दर्शकको महत्वपूर्ण सहयोगले नै महोत्सव भव्य रुपमा सम्पन्न भएको बताउँदै सबैमा धन्यवाद व्यक्त गरेका छन् ।
महोत्सव ५७ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका र १५३ वटा व्यापारिक स्टलबाट करिब ३ करोड ८० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको अध्यक्ष रेग्मीले जानकारी दिए । अध्यक्ष रेग्मीले पारदर्शिता, जवाफदेहीता, विश्वसनीयता र सहभागिता चेम्बरको मूल मन्त्र भएकोले सोही अनुसार कार्य सम्पादन गरेको बताउँदै महोत्सवको यथार्थ विवरण र आय व्यय विवरण सिघ्र पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने बताए । उनले सबैको सुझावलाई मनन् गर्दै आगामी महोत्सवमा कृषि उत्पादन र प्रविधि, घरेलु उत्पादन, विज्ञान प्रविधि, सूचना प्रविधि, ग्रामिण पर्यटन, पुरातात्विक महत्व, साहित्य र संस्कृतिको प्रवद्र्धन हुनेगरि संचालन गर्न सबैसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समापन कार्यक्रममा चेम्बर अफ कमर्श स्याङ्जाका संस्थापक अध्यक्ष नन्दकुमारी लम्साल (निर्मला), सल्लाहकार अमृतप्रसाद श्रेष्ठ, करदाता सेवा कार्यालय, पुतलीबजार का प्रमुख विजय भुषाल लगायतले मन्तव्य राखेका थिए संस्थाका अध्यक्ष लोकनाथ रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्रीबहादुर गुरुङले धन्यबाद ज्ञापन महासचिव रिखिराम पौडेलले कार्यक्रम संचालन गरेका थिए ।
महोत्सवमा भएको रत्यौली प्रतियोगितामा श्रवणटोल विकास संस्था पुतलीबजार १४ प्रथम, श्रृजना आमा समुह दोस्रो र जुग्ले आमा समुहले तेस्रो स्थान हासिल गरि नगदसहित पुरस्कृत भएका छन् । त्यसैगरी माइस्थान टोल विकास संस्था उत्कृष्ट बेहुला बेहुली र उत्कृष्ट नाचबाट पुरस्कृत भयो भने जैसीडाडा आमा समुहको उत्कृष्ट लुठो भई पुरस्कृत भएका छन् । बाजा प्रतियोगीतामा उखारी नौमती बाजा प्रथम र अरियाले नौमती बाजा समुह दोस्रो भएका छन् । महोत्सवमा संचालन भएको चेम्वर डान्स आइडलमा कन्चन शारुमगर प्रथम, सोफिया गुरुङ दोस्रो र दिप्सा गुरुङ तेस्रो भई नगद सहित पुरस्कृत भएका छन् । महोत्सवको उद्घाटनमा भएको झाँकी र्र्यालीमा नेपाल मगर संघ नगर कमिटी संयुक्त प्रथम, सक्षम आमा समुह द्धितिय र ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयले तृतीय स्थान हात पारेका छन् ।
त्यस्तै झिँगू प्रगति नेवा छेँ, लोककल्याण समाज सुधार समूह र भू.पू सैनिक टोल विकास संस्थाले सान्त्वना स्थान हात पारेका छन् । महोत्सवमा वहु आकर्षणको रुपमा रहेको स्कुटी गोलाप्रथाको पुरस्कार पुतलीबजार नगरपालिका १ की आरोही गुरुङले प्राप्त गर्नुभएको छ । गोलाप्रथाबाट द्वितीय हुने नेवार चुदारा र तृतीय हुने प्रकाश गैरेलाई स्प्रे प्रदान गरिएको छ । समापन कार्यक्रममा महोत्सवलाई सफल पार्न सहयोग गर्ने संघ संस्था, व्यक्ति, अफिसियल मिडिया रेडियो स्याङ्जा स्याङ्जा टेलिभिजन समेतलाई सम्मान गरिएको थियो । महोत्सव अवधिभर स्थानीय पहिचान झल्कने सालैजो सोरठी लगायत जातीय पहिचानका गायन नृत्य एवं चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती गरेका थिए ।