स्याङ्जा महोत्सवमा दर्शकहरूको उत्साहजनक सहभागिता

फागुन १०, २०८१     एनपी कोइराला


स्याङ्जा सदरमुकाममा जारी सातौं स्याङ्जा महोत्समा दर्शकहरूले उत्साहजनक सहभागिता जनाएका छन्।  स्याङ्जा उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन ६ गतेदेखी सुरू भएको महोत्सवको पाँचौ दिन अर्थात फागुन १० गते शनिबार करिब ६ हजार दर्शकहरूले महोत्सव अवलोकन गरेको स्याङ्जा उद्योग वाणिज्य संघका महासचिव रविन्द्र के.सी. ले जानकारी दिनुभयो।

महोत्सवमा शनिवार पुस्कल शर्मा, सुवोध गौतम, सबिना गुरूङ, चोलेन्द्र पौडेल, रोशन बि.क. , घनश्याम रिजाल लगायतका कलाकारहरूको प्रस्तुति रहेको थियो।

आइतबार गायक तथा कलाकार प्रिती आले , शंकर सुनार, रविना गुरूङ,  सागर गिरी, राजेन्द्र गिरी, विश्वको सबैभन्दा होचो मान्छे मनोज गोर्खाली लगायतको मनोरञ्जनात्मक प्रस्तुती रहेको स्याङ्जा उद्योग वाणिज्य संघले जानकारी दिएको छ।

‘स्याङ्जा महोत्सवको आधार – कृषि, पर्यटन नै आर्थिक समृद्धिको पूर्वाधार’ भन्ने नाराका साथ आयोजना गरिएको  महोत्सवमा २सय २० स्टल छ्न्।  महोत्सव ३ लाख ५० हजारभन्दा बढि दर्शकले मेला अवलोकन गर्ने र करिब ८ करोड बरावरको व्यापारिक कारोबार हुने अपेक्षा गरिएको छ।

महोत्सवस्थलमा माछा महोत्सवको रुपमा जिल्लाका प्रख्यात नदीहरु आँधीखोला, ज्याग्दीखोला, दरौंखोला, कालीगण्डकी लगायत नदीहरु तथा स्थानीय माछापोखरीहरुबाट उत्पादित माछाहरुको परिकार, भुरा तथा माउहरुको प्रदर्शनी रहको छ।कृषिजन्य  र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न ताजा तरकारी, अर्गानिक कफी तथा सुन्तला प्रदर्शनी र हस्तकला प्रदर्शनी भैरहेको आयोजकले जनाएको छ।

यसैगरी राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको स्टेज सो, बाल उद्यान, लोक दोहोरी गीत प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, रितिरिवाज झल्कने मनोरञ्जनात्मक  सांस्कृतिक कार्यक्रम महोत्सव अवधिभर संचालन हुनेछन्।  विशेष मनोरञ्जनात्मक कार्यक्रम अन्तर्गत परम्परागत रत्यौली गित प्रतियोगिता, मम्मी डान्स (एकल आमा नृत्य) प्रतियोगिता, लोक भजन प्रतियोगिता, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती, सुगम संगित, लाईभ कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरुको रुपमा प्रस्तुती रहने छन् ।

महोत्सव प्रवेशका लागि टिकट रु. १०० रहेको छ । विद्यार्थी परिचयपत्रको आधारमा विद्यार्थीलाई रु. ५० को टिकट र ज्येष्ठ नागरिक परिचयपत्रका आधारमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरूलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।