स्याङ्जा महोत्सवको तयारी पूरा, ८ करोड कारोबार हुने अपेक्षा

फागुन ०५, २०८१     स्मार्ट संवाददाता


सातौं स्याङ्जा महोत्सवको सम्पूर्ण   तयारी पूरा    भएको छ।स्याङ्जा उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन ६ गतेदेखी १८ गतेसम्म स्याङ्जा सदरमुकाममा अवस्थित मालेबगरमा संचालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठले जानकारी दिनुभयो। महोत्सवमा २सय २० स्टल हुनेछन्। महोत्सव ३ लाख ५० हजारभन्दा बढि दर्शकले मेला अवलोकन गर्ने र करिब ८ करोड बरावरको व्यापारिक कारोबार हुने अपेक्षा गरिएको छ।

‘स्याङ्जा महोत्सवको आधार – कृषि, पर्यटन नै आर्थिक समृद्धिको पूर्वाधार’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवको उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्ने करिब १ बजे उद्घाटन गर्ने महासचिव रविन्द्र के.सी. ले जानकारी दिनुभयो।

महोत्सवस्थलमा माछा महोत्सवको रुपमा जिल्लाका प्रख्यात नदीहरु आँधीखोला, ज्याग्दीखोला, दरौंखोला, कालीगण्डकी लगायत नदीहरु तथा स्थानीय माछापोखरीहरुबाट उत्पादित माछाहरुको परिकार, भुरा तथा माउहरुको प्रदर्शनी रहने छ।
कृषिजन्य र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न ताजा तरकारी, अर्गानिक कफी तथा सुन्तला प्रदर्शनी र हस्तकला प्रदर्शनी हुने आयोजकले जनाएको छ।

यसैगरी राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको स्टेज सो, बाल उद्यान, लोक दोहोरी गीत प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, रितिरिवाज झल्कने मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम महोत्सव अवधिभर संचालन हुनेछन्। विशेष मनोरञ्जनात्मक कार्यक्रम अन्तर्गत परम्परागत रत्यौली गित प्रतियोगिता, मम्मी डान्स (एकल आमा नृत्य) प्रतियोगिता, लोक भजन प्रतियोगिता, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती, सुगम संगित, लाईभ कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरुको रुपमा प्रस्तुती रहने छन् ।

महोत्सव प्रवेशका लागि टिकट रु. १०० रहेको छ । विद्यार्थी परिचयपत्रको आधारमा विद्यार्थीलाई रु. ५० को टिकट र ज्येष्ठ नागरिक परिचयपत्रका आधारमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरूलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।