स्याङ्जा महोत्सव सुरू

फागुन ०६, २०८१     स्मार्ट संवाददाता


सातौं स्याङ्जा महोत्सव स्याङ्जा सदरमुकाममा सुरू भएको छ। स्याङ्जा उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन ६ गतेदेखी १८ गतेसम्म स्याङ्जा सदरमुकाममा अवस्थित मालेबगरमा  हुने महोत्सवको  समुद्घाटन पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेले गर्नुभयो। महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेले उद्योग , वाणिज्य र पर्यटनको विकासका लागि सरकार र निजी क्षेत्रबिच सहकार्य र सकारात्मक सम्बन्ध हुनुपर्ने बताउनुभयो। सरकारले निजी क्षेत्र कृयाशील र उत्साहित हुनेगरी  अध्यादेश ल्याएको बताउँदै मन्त्री पाण्डेले वर्तमान सरकार देशमा लगानीको वातावरण निर्माण गर्न लागि परेको बताउनुभयो। महोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै उहाँले निजी क्षेत्र पनि स्वदेशमै रोजगारी सृजना गरेर युवा पलायन रोक्न र रित्तिदै गएको सुन्दर गाउँहरूलाई गुल्जार बनाउन लागि पर्नुपर्ने बताउनुभयो।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति तथा स्याङ्जा क्षेत्र नम्बर १ का सङ्घीय सांसद  राजु थापा, गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारी, सुनिता थापा,नेकपा एमाले केन्द्रिय सदस्य सिता सुन्दास, नेकपा एमाले जिल्ला कार्यसमितिका अध्यक्ष सुर्य प्रसाद गैह्रे ”पारस”, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल,जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक शालिग्राम शर्मा पौडेल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय  स्याङ्जाका प्रमुख उपअनुसन्धान निर्देशक सुसान्त बराल, श्री सिंह शार्दुल गुल्मका गुल्मपति सेनानी बलबहादुर आले,सशस्त्र प्रहरी बल नम्बर ३० गुल्मका गुल्मपति  लिला बहादुर भुजेल, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, जिल्लाका ११ स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, स्थानिय तथा राष्ट्रिय कलाकारहरु विभिन्न आमासमुह टोल विकास संस्था, ब्रामण,क्षेत्री, ठकुरी, मुस्लिम,मगर ,गुरुङ,नेवा समाज विभिन्न संघ सस्थाहरुका प्रमुखहरु पत्रकारहरु लगायत करिब ५ हजार जनाको सहभागिता रहेको थियो।

‘स्याङ्जा महोत्सवको आधार – कृषि, पर्यटन नै आर्थिक समृद्धिको पूर्वाधार’ भन्ने नाराका साथ आयोजना गरिएको  महोत्सवमा २सय २० स्टल रहेका छन्।  महोत्सव ३ लाख ५० हजारभन्दा बढि दर्शकले मेला अवलोकन गर्ने र करिब ८ करोड बरावरको व्यापारिक कारोबार हुने अपेक्षा गरिएको छ।

महोत्सव स्थलमा माछा महोत्सवको रुपमा जिल्लाका प्रख्यात नदीहरु आँधीखोला, ज्याग्दीखोला, दरौंखोला, कालीगण्डकी लगायत नदीहरु तथा स्थानीय माछापोखरीहरुबाट उत्पादित माछाहरुको परिकार, भुरा तथा माउहरुको प्रदर्शनी रहने छ।

कृषिजन्य  र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न ताजा तरकारी, अर्गानिक कफी तथा सुन्तला प्रदर्शनी र हस्तकला प्रदर्शनी हुने आयोजकले जनाएको छ।

यसैगरी राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको स्टेज सो, बाल उद्यान, लोक दोहोरी गीत प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, रितिरिवाज झल्कने मनोरञ्जनात्मक  सांस्कृतिक कार्यक्रम महोत्सव अवधिभर संचालन हुनेछन्।  विशेष मनोरञ्जनात्मक कार्यक्रम अन्तर्गत परम्परागत रत्यौली गित प्रतियोगिता, मम्मी डान्स (एकल आमा नृत्य) प्रतियोगिता, लोक भजन प्रतियोगिता, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती, सुगम संगित, लाईभ कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरुको रुपमा प्रस्तुती रहने छन् ।

महोत्सव प्रवेशका लागि टिकट रु. १०० रहेको छ । विद्यार्थी परिचयपत्रको आधारमा विद्यार्थीलाई रु. ५० को टिकट र ज्येष्ठ नागरिक परिचयपत्रका आधारमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरूलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।