गंगालाल माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाउँदै 

पुष २३, २०८१     सुनिल न्यौपाने


 स्याङ्जाको चापाकोट नगरपालिका वडा नं  ९ सुन्तलीटारमा अवस्थित  गंगालाल माध्यमिक विद्यालयले  माघ १६ मा स्वर्ण जयन्ती  मनाउने भएको छ। विद्यालयले नगरपालिका भित्रका सम्पुर्ण विद्यालयहरु समेटेर विविध  कार्यक्रमहरु आयोजना गरी स्वर्ण जयन्तीलाई उत्सवका रूपमा मनाउने घोषणा गरेको हो।

यसका लागि माघ  १० देखि नै विभिन्न कार्यक्रमको तयारी गरेको आयोजित सम्मेलनमा जानकारी दिइएको छ। यस अवसरमा विद्यालयले विविध सांस्कृतिक,अन्तर माध्यमिक, शैक्षिक, बौद्धिक र विभिन्न खेलकुदका कार्यक्रमहरु गर्ने जनाएको छ।

स्वर्ण जयन्तीलाई सफल बनाउन १५१ सदस्यीय मूल समारोह आयोजक समिति गठन गरिएको छ। जसको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरण्यलाल आचार्यले गर्नुभएको छ।

चापाकोटको शैक्षिक मुटु मानिने गंगालाल माध्यमिक विद्यालय १६ माघ २०३१ मा स्थापना भएको थियो।  यसले ५० वर्षको यात्रामा शिक्षा र समुदायका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

विद्यालयका प्रधानाध्यापक गोपाल प्रसाद रेग्मीले समुदाय, व्यवस्थापन समिति, शिक्षक एकजुट, लगनशील र प्रतिबद्ध भए सुधार गर्न सकिन्छ भन्ने उदाहरण यो विद्यालय रहेको बताउनुभएको छ। सम्पुर्णको सहयोगले नै विद्यालयको शैक्षिक गुणस्तर थप उचाइमा पुग्ने रेग्मीले बताउनुभयो ।

विद्यालयका पुर्व प्रधानाध्यापक खेमराज भट्टराईले विगत लामो समयदेखी शैक्षिक  धरोहरको रुपमा स्थापित यस विद्यालयलाई योगदान गर्नुहुने सबैलाई धन्यवाद समेत दिनुभएको छ।