स्याङ्जा सहयोग समाजको ५ औं विश्व सम्मेलन स्याङ्जामा हुँदै
मङि्सर ०७, २०८०
नारायण प्रसाद कोइराला, स्याङ्जा २०८० मंसिर ७, बिहीवार
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको ५ औं विश्व सम्मेलन जिल्ला सदरमुकाम स्याङ्जामा हुने भएको छ।
बुधबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित विश्व सम्मेलन विशेष पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष टुकराज अर्यालले विश्व सम्मेलनको उद्घाटन समारोह मंसिर ९ गते पुतलीबजार नगरपालिका वडा नं १ स्याङ्जामा रहेको जिल्ला समन्वय समिति स्याङ्जाको सभाहल विहान १० बजे कार्यक्रम शुभारम्भ हुने जानकारी दिए । कार्यक्रमको प्रमुख अतिथी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ रहने र यो १४ औं वार्षिक साधारण सभा, ८ औ अधिवेशन पनि सँगसँगै रहेकाले निर्वाचनको प्रक्रिया शुरु भइसकेको अर्यालले जानकारी दिए।
हाल सम्म स्याङ्जा सहयोग समाजका २३ देशमा राष्ट्रिय समिति गठन भइसकेको छ । २० देशमा समाजको संम्पर्क प्रतिनिधिहरु रहेका छन । यस विश्व सम्मेलनमा कुल ४३ देशका प्रतिनिधि तथा पर्यवेक्षकहरु गरि ३४२ जनाको सहभागीता रहने छ। कार्यक्रम भौतिक तथा भर्चुअल दुवै माध्यमबाट गरिनेछ ।
विश्वभर वैदेशिक रोजगारी र व्यवसायमा संलग्न रहेका स्याङ्गजाबासीहरुलाई एकताबद्ध गरी उनीहरूको समस्याहरुको समाधान, सांस्कृतिक विकास, आपसी भातृत्व विकास गर्दै स्याङ्जा जिल्लाको आर्थिक तथा सामाजिक विकासमा सहकार्य गर्ने उद्देश्यले वि.स. २०६६ सालमा स्थापित स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले सदस्यहरू र स्याङ्जाको कल्याणका लागि विभिन्न कल्याणकारी कार्यक्रमहरू गर्दै आएको छ।
“समृद्ध स्याङ्जाका लागि विश्व अभियान” को मुल नारा बोकेको यस संस्थाले हालसम्म स्याङ्जा र स्याङ्जालीहरूको कल्याणमा ८ करोड भन्दा बढी खर्च गरेको अध्यक्ष अर्यालले बताए।
ठूला विपत्तिहरु भूकम्प २०७२, कोरोना महामारी, लगायत जिल्लामा भएका आगलागी, बाढी पहिरो जस्ता विपत्तिहरुमा संस्थाले आर्थिक तथा भौतिक सहयोगको कार्य गरिरहेको छ । विभिन्न देशमा मृत्युवरण गर्नु भएका स्याङ्जाबासीहरुको शव नेपाल ल्याउने तत् देशहरुमा परेका समस्याहरुको समाधान गर्ने, आवश्यक परामर्शहरु प्रदान गर्ने कार्यहरु गरिरहेको छ । विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्रीहरु, अक्षयकोष स्थापना, बालगृह, बृद्धाआश्रमहरुमा सहयोग नियमितरुपमा गरिरहेको छ । संस्थाको आफ्नै रु १ करोडको अक्षयकोष स्थापना भएको छ ।