घरघरमै सामाजिक सुरक्षा भत्ता पाएपछि लाभग्राही खुशी

साउन ११, २०७९


स्मार्ट अखबार संवाददाता
२०७९ साउन ११

भीरकोट नगरपालिका वडा नं ७ निवासी तिलबहादुर भण्डारीका दम्पती आफ्नै गाउँघरमा सामाजिक सुरक्षा भत्ता पाउँदा एकदमै दंग पर्नुभएको छ। ७५ वर्षीय भण्डारीले भन्नुभयो, “बैंकमा जानुपर्दा निकै दु:ख हुन्थ्यो। घरी के मिलेन घरी के मिलेन भन्ने। अनि कोरोनाकालमा त झन दु: ख पाइयो भत्ता बुझ्नलाई। यसपालि भने मेयर, उपमेयर, वडा अध्यक्ष, वडा सदस्य र कर्मचारीहरू भत्ता लिएर गाउँघरमै आउनुभयो। नयाँ जनप्रतिनिधि आएपछि गाउँठाउँमा विकासले गति लिन थालेको छ। हामी खुसी छौं।” वडा नं ६ तिसेदी निवासी तिला रोकाहालाई यसपटक सामाजिक सुरक्षा भत्ता लिन चिफ्लो, हिलो बाटोमा असहज यात्रा गरेर सदरमुकाम बयरघारी झर्नुपरेन। वडा नं ६ का वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्री (रामकाजी) सहितको जनप्रतिनिधि र कर्मचारीको टोली उहाँले पाउने सामाजिक सुरक्षा भत्ता लिएर उहाँकै घरमा पुगेपछि उहाँ फुरूङ्ग हुनुहुन्छ, उहाँले भन्नुभयो,” यो बर्खामासमा वडा अध्यक्ष र कर्मचारी घरमै आएर भत्ता दिनुभयो । अप्ठ्यारो बाटो हिडेर बजार झर्न परेन्। ब्याङ्कमा लाइन बस्न परेन। अब सधैंभरि यसरी नै पाउन पाए सजिलो हुन्थ्यो ।

” वडा नं ६ फोक्सिङका शेरबहादुर बि.क. ले पनि यसपटक सामाजिक सुरक्षा भत्ता गाउँमै पाउनुभयो। उहाँकी श्रीमतीले पनि सामाजिक सुरक्षा भत्ता पाउनुहुन्छ तर खुट्टा भाँचिएको हुँदा बैंक जान निकै गाह्रो थियो। अघिल्लो चोटि भत्ता लिन जाँदा उहाँको श्रीमतीको हस्ताक्षर मिलेन भनेर बैंकले दु:ख दियो। तर यसपालि भने उहाँ निकै खुशी हुनुहुन्छ । उहाँले भन्नुभयो, “वडा अध्यक्ष, जनप्रतिनिधि र कर्मचारीले गाउँमै आएर दिनुभयो। धेरै सजिलो भयो। पारी आउजाउ गर्न निकै दु:ख हुन्छ बुढाबुढीलाई। यसपालि त पाइयो, अब सधैंभरी गामघरमै पाउन पाए हुन्थ्यो ।”

भीरकोट नगरपालिकाले वडाको टोल टोलमै गएर सामाजिक सुरक्षा भत्ता बाड्न सुरु गरेपछि लाभग्राहीहरू एकदमै हर्षित छ्न्। यसले गर्दा भत्ता लिन बैंक सम्म पुग्नुपर्ने झन्झट र सकस हटेको छ । जिपमा असहज यात्रा गर्दै बल्ल बल्ल बैंक पुगे पछि लामो लाईनमा घण्टौ बस्नु पर्ने अवस्थाको अन्त्य भएकोमा लाभग्राहीहरू एकदमै खुशी छ्न्। घरदैलोमा भत्ता पाउने व्यवस्था मिलाईदिएकोमा जेष्ठ नागरिकहरू सबैभन्दा खुशी देखिन्छन् । नवनिर्वाचित जनप्रतिनिधिहरूले गाउँघरमै भत्ता बुझ्न पाउने व्यवस्था मिलाइदिएपछि तिला रोकाहा र शेरबहादुर बि.क. जस्तै सबै लाभग्राही प्रशन्न छ्न् ।

नगरप्रमुख गोविन्द कुमार कर्माचार्य, उपप्रमुख भगवती रेग्मी अर्याल र वडाध्यक्ष तारा प्रसाद अर्याल सहितको टोलीले वडा नं. ७ का टोल टोलमा पुगेर भत्ता वितरण गर्यो । वडा अध्यक्षको आग्रहमा नगर प्रमुख नै समय तालिका बनाएर सामाजिक सुरक्षा भत्ता लिएर टोल–टोलमा पुगेपछि सेवाग्राहीहरु निकै हर्षित भएको वडाध्यक्ष अर्यालले बताउनुभयो । वडा अध्यक्ष अर्यालले भन्नुभयो, “नगर प्रमुखको हातबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न र आफ्ना समस्या गुनासा राख्न पाउँदा लाभग्राहीहरू एकदमै हर्षित हुनुहुन्छ।”

वडा नं २ का वडा अध्यक्ष श्यामकाजी अधिकारीले पनि बजार आउजाउ गर्न समस्या हुने क्षेत्रका वडाबासीहरूलाई गाउँघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुभयो। उहाँले पनि नागरिकहरू घरदैलोमै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दा खुशी भएको र निरन्तरताको अपेक्षा गरेको बताउनुभयो। बैंकको लापरबाहीले गर्दा केही लाभग्राहीलाई घरदैलोमा सामाजिक सुरक्षा भत्ता दिन नसकिएको उहाँको गुनासो छ।

नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले घरदैलोमै सामाजिक सुरक्षा भत्ता पाउँदा जनताहरू एकदमै खुशी भएको र निरन्तरताको अपेक्षा गरेको बताउनुभयो। नागरिकहरूले खानेपानी समस्या र अन्य अपूरा योजना पूरा गर्न आग्रह गरेको बताउँदै नवनिर्वाचित सरकारले जनअपेक्षा अनुसार नै काम गर्ने बताउनुभयो।