राष्ट्रपति रनिङशिल्डमा पञ्चकन्या मा.वि. प्रथम 

मङि्सर ०८, २०८१     नारायणप्रसाद कोइराला


स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा  दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक  महोत्सवको समापन भएको छ।  रनिङशिल्ड प्रतियोगितामा पञ्चकन्या मा.वि  प्रथम भएको छ। कुल २२ स्वर्ण ८ रजत र ४ काँस्य गरी ३४ पदकसहित पञ्चकन्या मावि प्रथम भएको हो।प्रथम राष्ट्रपति रनिङ शिल्ड पनि पञ्चकन्या मा.वि. ले नै जितेको थियो।

 यसैगरी ९ स्वर्ण ,९ रजत र ९ काँस्य पदकसहित घण्टे मावि दोस्रो, र  ४ स्वर्ण, ५ रजत र ४ काँस्य पदकसहित अर्जुनचौपारी चिल्ड्रेन एकेडेमी तेस्रो भएका छन्। सान्त्वना स्थान प्राप्त गरेको अमरज्योती मा.वि. ले  ४ स्वर्ण, ४ रजत र १० काँस्य पदक प्राप्त गरेको छ।

मसिंर ६ गतेदेखि ८ गतेसम्म अर्जुनचौपारी खेलमैदान भएको प्रतियोगितामा कुल ५०‌ वटा स्वर्ण, ५० रजत र ५० वटै काँस्य पदकका लागि प्रतिष्पर्धा भएको उक्त खेलमा करिब  ९०० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो।

यसैगरी शैक्षिक महोत्सव अन्तर्गत  गत शैक्षिकसत्र २०८० को शैक्षिक प्रगति मूल्यांकनमा घण्टे मा.वि. ले  सर्वोत्कृष्ट स्थान हासिल गरी नगद रु १ लाख सहित पुरष्कृत भएको छ। जन मा.वि. रापाकोट उत्कृष्ट बन्दै नगद रु ५००००, आधारभूत तहमा गणेश आ.वि. र गाउँफर्क आ.वि. (१-५) सर्वोत्कृष्ट बन्दै ५०-५० हजार, सूर्योदय आ.वि . आरुचौर(१-३) ५०००० नगद सहित सम्मानित भएका छन्।

समापन समारोहमा प्रतिनिधि सभा सदस्य राजु थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूलाई सम्बोधन गर्दै उहाँले  शैक्षिक क्षेत्रलाई माथि उठाउन सके देश स्वत माथि उठ्ने बताउँदै  देश निर्माणमा सबै एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले खेलकुद राष्ट्र र राष्ट्रियतासँग जोडिएका हुनाले खेलकुद लगायतका अतिरिक्त क्रियाकलापलाई विद्यालयहरूले प्राथमिकता  दिनुपर्नेमा जोड दिनुभयो। खेलकुदले विद्यार्थीहरूमा देश प्रेमको भावना जागृत गराउने उहाँको भनाई छ।

गाउँपालिकाका उपाध्यक्ष सपना गुरूङले विद्यार्थीहरूको शारीरिक र मानसिक विकासका खेलकुद लागायतका अतिरिक्त क्रियाकलाप अपरिहार्य रहेको बताउनुभयो। आगामी दिनमा खेल गतिविधिलाई थप प्राथमिकता दिइने बताउँदै उहाँले सिकाईलाई कक्षाकोठामा मात्र सिमित गर्ने मानसिकताबाट बाहिर निस्कनुपर्ने बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले खेलकुदबाट अनुशासन, टिमवर्क , एकता, प्रेम , द्वन्द्व व्यवस्थापन , विश्वास जस्ता जीवनोपयोगी सिकाइ हुने भएकाले शिक्षण सिकाई सँगसँगै  खेलकुदलाई विद्यालयले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले दोस्रो राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता एवं शैक्षिक महोत्सव सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै  समृद्ध अर्जुनचौपारी निर्माण निर्माण गर्न निर्वाचित जनप्रतिनिधि र जनता एकजुट हुनुपर्ने बताउनुभयो। जनता र जनप्रतिनिधि एकजुट भए पालिकाको शैक्षिक तथा भौतिक विकासमा अवरोध गर्ने तत्वहरू स्वत पराजित हुने उहाँको भनाई छ।

कार्यक्रममा गत शैक्षिकसत्रमा अर्जुनचौपारीमा उत्कृष्ट शैक्षिक नतिजा प्राप्त गर्ने आधारभूत विद्यालय , माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ,विद्यार्थी, कर्मचारी र पत्रकारहरूलाई समेत सम्मान गरिएको थियो।